मोहसिन अलि मियाँ/गोरखा
माघ १६ गते । पछिल्लो समय दोस्रो किस्ताको अनुदान लिने लाभग्राहीको संख्या बढेको छ । निर्वाचन अघिसम्म अत्यन्त सुस्त रहेको पुनःनिर्माणको कामले पौषदेखि भने तिब्रता लिएसंगै किस्ता सिफारिस पनि बढेको हो । ‘अहिले घर बनाउनेको संख्या अत्याधिक छ, चुनावपछि त धेरै मान्छेले एकैचोटी घर बनाउन सुरु गरे, अहिले इन्जिनियरलाई भ्याइनभ्याइ भएको छ’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयल शिवलाल पौडेलले भने ।
६१ हजार ३ सय ९३ लाभग्राही रहेको गोरखामा पुस महिनामा मात्र १० हजार भन्दा बढि घरलाई दोस्रो किस्ताका लागि सिफारिस गरिएको कार्यालयको तथ्यांकमा छ । मंसिर मसान्तसम्म १६ हजार ६ सय ५५ घर दोस्रो किस्ताका लागि सिफारिस भएकोमा पुस मसान्तसम्म २६ हजार ७ सय ७४ को दोस्रो किस्ता सिफारिस भएको सचिवालयले जनाएको छ । ‘मंसिरसम्म त खासै प्रोग्रेस थिएन, पुस लागेपछि त ह्वात्तै बढेको छ, एक महिना मै १० हजार १ सय १९ लाई हामीले दोस्रो किस्ताका लागि सिफारिस गरेका छौ’ पौडेलले भने ।
सरकारले दोस्रो किस्ता लिने म्याद पौष मसान्तसम्म तोकेकाले पनि घर बनाउनेको संख्या बढेको हुन सक्ने कार्यालयको अनुमान छ । पहिलो किस्ता लिइसकेका भुकम्पपिडितलाई पुस मसान्त भित्र दोस्रो किस्ता लिइसक्न म्याद तोकेको थियो । तर म्याद समाप्त हुदा समेत हालसम्म म्याद भने थप गरिएको छैन ।
हालसम्म जिल्लामा ५६ हजार ७ सय ३६ जनाले पहिलो किस्ता बुझेका छन् । पौष माहिनामा जम्मा २ सय १७ जनाले मात्र पहिलो किस्ता बुझेका सचिवालयको तथ्यांकमा छ । त्यस्तै मंसिर मसान्तसम्म ५ हजार ८ सय २६ ले तेस्रो किस्ता लिएकोमा पुस महिनामा १ हजार ३ सय ५४ थपिएर ७ हजार १ सय ८० पुगेको सचिवालयका पौडेलले बताएका छन् ।
लाभग्राही सूचीमा परेका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट तिन किस्तामा लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ भएकोमा हासै सरकारले १ लाख थप गरि चार लाख पु¥याएको छ ।




















