नरेन्द्र ढकाल/गोरखा
माघ १४ गते । कुनै बेला सिरानडाँडाको ढुङ्गाले घर छाउनु निकै शानको कुरा हुन्थ्यो । हुनेखाने मानिसहरु ठुलो रकम खर्चेर भए पनि सिरान डाँडाबाट ढुङ्गा ल्याएर घरको छाना छाउथे । अहिले सोही ढुङ्गा खानी छेऊको बस्तीमा जस्ताको छानोले रङ्गीचङ्गी भएको छ । ‘हामीलाई पहिले जस्तै ढुङ्गाले छाएर घर बनाउन मन छ, सबैले मिल्दैन भन्छन्’ अजिरकोट गाउँपालिका वडा नम्बर ३ नम्कीकी मनकुमारी लामाले भनिन् ।
गोरखा क्षेत्र नम्बर २ लम्जुङ र तनहुँका धनिमानी मानिसहरु समाजमा आफ्नो रवाफ देखाउन कै लागि भएपनि घर छाउने ढुङ्गा किन्न सिरानडाँडा पुग्थे । कुनै बेला त्यहाँ ढुङ्गाको व्यापार निकै फस्टाएको थियो । सिम्जुङको सिरानडाँडा र खरिबोटको नम्की लगायत आसपासका स्थानीयहरु व्ययसायीक रुपमा घर छाउने ढुङ्गाको ठेक्कापट्टा समेत गर्थे ।

‘हातले नापेर ढुङ्गा बेचिन्थ्यो, भरियाँ र खच्चड लिएर ढुङ्गा लिन मानिसहरु गाउँमा आउथे, अहिले सुनसान भयो’ लामो समय ढुङ्गाको ठेक्कापट्टा गरिएकी नम्कीकी स्थानीय चन्द्रमायाँ तमाङले भनिन् । झण्डै ३० वर्ष ढुङ्गाको व्यापार गरेको अनुभव उनले सुनाइन् ‘हातको ३० रुपयाँमा त मैले पनि बेचेँ, पछि ६० रुपयाँ हुँदै १५०-१६० सम्म बेचियो, भुकम्पपछि अहिले त ठप्पै छ ।’

शहरी क्षेत्रमा चिप्स टायल बनाउनको लागि अहिले पनि व्यापारीहरु ढुङ्गा लिन सिरानडाँडा पुगे पनि स्थानीयले बेचेका छैनन् । ‘सस्तोमा माग्छ, कस्ले दिने ?, घाटा खाएर दिने कुरा भएन्’ तमाङले भनिन् । सिरानडाँडाको चर्चित ढुङ्गा खानी नजिकै रहेको जिल्लाकै नमूना पर्यटकिय गाउँ नम्की र सिरानडाँडामा बनेका नयाँ घर सबै जस्ताले छाइएको छ ।

भुकम्पका कारण घर भत्किएर बनेका नयाँ घरमा कसैले पनि ढुङ्गाले छाएका छैनन् । छानाको अलवा गारो समेत तराईबाट इट्टा मगाएर लगाइएको छ । ‘हामीलाई त ढुङ्गाले घर बनाउन मन छ, इन्जिनियर सापले ढुङ्गाले बनाउन हुन्छ भन्नु भयो भने, हामी खुसिका साथ बनाउछौं’ मनकुमारी तमाङले भनिन् ।
ढुङ्गाले छाएका कारण छानाको तौल बढि भएर घर धेरै भत्किएको भन्दै इन्जिनियर प्राविधिकहरुले नयाँ घर बनाउँदा जस्ता लगाउन भनेको स्थानीयको भनाई छ । ‘ढुङ्गाले छाउन पाए त शित पनि चुहिन्थेन, घर पनि राम्रो हुन्थ्यो’ तमाङले भनिन् । नम्कीमा मात्र ५० भन्दा बढि घर कादुरी नामक गैरसरकारी सस्थाको सहयोगमा निर्माण गरिएको छ ।

निलो रङ्गको जस्ताले छाएका ती घर सबै सरकारको मापदण्डमा नबनेकाले अनुदान दिन नमिल्ने इन्जिनियर प्राविधिकहरुले बताउँदै आएका छन् । डिपिसी सम्म ठिक भएपछि त्यसभन्दा माथिको भाग भत्काएर बनाए मात्र अनुदान दिन मिल्ने उनीहरुको भनाई छ । अहिले बनेका घर भत्काएर नयाँ बनाउन समस्या भएको स्थानीयले बताउँदै आएका छन् ।

सिरानडाँडाको पहिचान बनेको घर छाउने ढुङ्गा हराउने अबस्था आएको भन्दै स्थानीय चिन्तित बनेका छन् । ढुङ्गाको व्यापार गरेर दैनिकी चलाएकाहरुको पनि पेसा परिर्वतन भएको छ । भुकम्प यता ढुङ्गा खानी नै बन्द छ । राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणले स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाउने भने पनि ढुङ्गाकाको छाना तौल बढि हुने भन्दै इन्जिनियर प्राविधकले जस्ताले घर छाउन दबाब दिए पछि त्यहाँको मौलिक हराउने अबस्था पुगेको छ ।

तस्बिर कैलासबावु श्रेष्ठ/गोरखा


