नरेन्द्र ढकाल/गोरखा
माघ १४ गते । केहीदिनयता परेको हिमपातका कारण एनआरएनले लाप्राकमा निर्माण गरिरहेको एकिकृत बस्ती विकासको काम रोकिएको छ । चिसोका कारण कामदार नै बिरामी परेपछि पुर्नःनिर्माणको काम पूर्ण रुपले ठप्प भएको उक्त आयोजनाका कार्यक्रम प्रबन्धक दिपेश सिहंले जानकारी दिए । ‘काम पुरै ठप्प छ, भेकलहरु हिउँमा सिल्लीप हुन्छ । त्यही भएर हामीले चलाका छनौं’ सिंहले भने ।
चिसोका कारण कामदार समेत बिरामी परेपछि काम रोकेर मौसम खुल्ने प्रतिक्षामा बसिरहेको उनले बताए । ‘हाम्रो लेभरहरु, इन्जिनियर साथीहरु नै बिरामी परेर कतिजना त घर फर्कनु भएको छ’ उनले भने । नेपाली सेना, बाहिरबाट लगिएका अन्य दक्ष कामदारहरु र स्थानीय कामदारहरु गरी १२५ जनाले काम गरिरहेको भएपनि अहिले चिसोका कारण विरामी भएपछि कामदारको संख्या घटेको छ ।
हिउँ पग्लि नसकेकोले बाँँकी कामदारहरु पनि आराम गरेर बसेको भन्दै पानी जमेका कारण पिउने पानीको समेत समस्या भएको सिहंको भनाई छ । ‘कति बेला घाम लाग्छ अनि पानी खान पाइन्छ भनेर बस्नुपर्ने अबस्था छ, काम त कसरी गर्नु ।’ बस्ती निर्माणका काम ढिलो भएको गुनासो आईरहेका बेला हिमपातले समेत काम प्रभावित भएपछि तोकिएको समय भित्र घर बनाई सक्न पनि चुनौती भएको सिंहले बताए ।
‘डेढलाइनमा काम सक्न त यसले समस्या पारिहाल्छ, यसले गर्दा पनि समय सिमामा काम सक्न गाह्रो छ ।’ गैर आवासिय नेपाली सघं एनआरएनको लगानीमा निर्माणधिन लाप्राकको गुप्सी पाखा एकिकृत बस्ती निर्माणको काम निकै ढिलो भइरहेको सरोकारवालाहरुको भनाई छ । पहिरोको कारण गाउँ नै बिस्तापित भएको पुरानो लाप्राक गाउँ भन्दा माथी गुप्सी पाखामा ५७३ घर निर्माणको काम भए पनि हाल सम्म १०० घर पनि निर्माण सम्पन्न भइसेका छैनन् ।
एनआरएनका तत्कालिन अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा काम सक्ने बताए पनि त्यस्तो हुन सकेन् । यसै आर्थिक वर्ष भित्र काम सक्ने अहिलेको समितिले कुरा पनि लगभग सम्भव नहुने देखिएको स्थानीयहरुले बताएका छन् ।


