नरेन्द्र ढकाल/गोरखा
माघ १२ गते । काशीगाउँका एक दर्जन भुकम्प पिडितले यस वर्ष घर बनाउन नमिल्ने बताएका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशीगाउँका भुकम्प पिडितले गुरुङ संस्कार अनुसार ल्हो फेरिएकाले नयाँ घर बनाउन नमिल्ने अबस्था आएको स्थानीय इन्द्र घलेले बताए । ‘ल्हो फेरियो, यो वर्ष पुरानो घर भत्काउन मिल्दैन, नयाँ घर बनाउन पनि मिल्दैन’ उनले भने । इन्द्र घले, भिम बहादुर घले, रस बहादुर घले, मंगल गुरुङ लगायत एक दर्जन भन्दा बढि पिडितको परिवारका सदस्यको वर्ग अनुसार यस वर्ष नयाँ घर बनाउन नमिल्ने भएको हो ।
‘अर्को माघ अघि हामीले घर बनाउन मिल्दैन’ उनले भने ‘ढुङ्गा, काठ सबै जुटाएर राखेको छ, भत्काउन नमिल्ने भएर अड्किएर बसेका छौ ।’ घर बनाउन नमिल्ने भएपछि अधिकाशं पिडितले अनुदानको पहिलो किस्ता समेत बुझेका छैनन् । ‘निकाले पछि मासिन्छ भनेर अहिले सम्म यत्तिकै छ, अब निकालेर आवश्यक सामाग्री किन्नु पर्ला’ घलेले भने ।
आगमी माघ/फागुन अघि उनीहरुले घर बनाउन नमिल्ने भएपछि सरकारी अनुदान पाउने कि नपाउने भन्ने चिन्ता उनीहरुमा छ । यसै विच धार्चे गाउँपालिकाका प्रमुख सन्त बहादुर गुरुङले उक्त समस्याका बारेमा जानकारी लिएर सम्बन्धित निकाय सँग छलफल गरिरहेको बताएका छन् ।‘ल्हो फेरिएका कारण त्यहाँ घर बनाउन नमिल्ने कुरा आएको छ, अर्को वर्ष सम्म कुर्न मिल्छ कि मिल्दैन म पनि बुझ्दै छु’ गुरुङले भने ।
स्थानीय धर्म र संस्कारका कारण उनीहरुले घर बनाउन नमिल्ने अबस्था आएको हो । ‘गुरुङ समूदायमा वर्ग फेर्न भन्ने हुन्छ, घरका छोरा मान्छेहरुलाई जैसी पण्डितले हेराउँदा घर बनाउन नमिल्ने देखियो भने बनाउन मिल्दैन’ गुरुङले भने । यदी भुकम्प पिडितका लागि दिइएको अनुदान यस अर्थिक वर्ष भित्र लिइसक्नु पर्ने भए उनीहरु मर्का पर्ने गुरुङले बताए । केही दिन यता धार्चे लगायत चुमनुब्री गाउँपालिकाकाअधिकाशं स्थानमा हिमपात भएपछि त्यहाँ पुन:निर्माणको काम समेत प्रभावित भएको छ ।
‘जुन हिसाबले काम हुनुपर्थो त्यो त भएको छैन्, बल्ल घर बनाउन थालेका बेला हिमपात भए पछि फेरी काम रोकिएको छ’ उनले भने । हिमपातका कारण लाप्राकको एकिकृत नमूना वस्तीको काम समेत प्रभावित भएको छ । विशेष गरी नयाँ घर बनाउनका लागि टहरा बनाएर अस्थायी रुपमा बसेकाहरुलाई बढि समस्या भएको उनीहरुले बताएका छन् । धार्चेमा भुकम्प अघि बनेका घरहरुले अहिले सम्म अनुदान रकम पाएका छैन । मापदण्ड आउनु पुर्व बनेका घरहरुलाई रेटिूफिटिङ मार्फत भुकम्प प्रतिरोधी बनाएर अनुदान दिने भने पनि अहिले सम्म उक्त कार्य हुन नसकेको गाउँपालिका प्रमुख गुरुङले बताए ।


