मोहसिन अलि मियाँ/गोरखा
माघ १० गते । केही दिन अघि जिल्ला अस्पतालका गोरखाका एम्बुलेन्स चालक खिलबहादुर सुनार एक सिकिस्त बिरामी भरतपुर जान निस्के । जिल्ला अस्पतालले थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरेको उक्त बिरामीलाई जति सक्यो छिटो त्यहाँ पुरयाउनु सुनारको जिम्मेवारी थियो । अस्पतालको गेटबाट प्रस्तावित लायन्स आँखा अस्पताल नपुग्दै उनि जाममा परे । ‘बिरामीको अवस्थाको जटिल छ, छिटो पुरयाउन पाए हुन्थो भनेर निस्कियो, यहीँ जाममा परिन्छ’ उनले भने । आगाडी पछाडी ठूला-ठूला टिपर र बस देखेपछि उनले साइरन बजाउन थाले । उनले जति साइरन बझाए पनि पनि त्यँहा काम लागेन । कारण थियो साँघुरो सडक ।
‘ओरालोे त्यस माथी पनि एक लेनको सडक, एउटा गाडी आएपछि अर्कोले साइड दिन सम्म पनि मिल्दैन’ उनले भने । बिहानको १० बज्दै थियो । मोटरसाइकल र अन्य सवारी साधनको चाप पनि उत्तिकै बाक्लो । गाडीहरु टसमस गर्ने ठाँउ समेत थिएन । चालक सुनार थप्छन् ‘अस्पतालबाट हरमटारी पुग्नै आधा घण्टा लाग्यो, भरतपुर पुग्दाको त कुरै छोडौं ।’ आजकल हरमटारीचोकबाट अस्पतालमार्ग तर्फको सडकमा दिनहुँ घण्टौ जाम पर्न थालेपछि एम्बुलेन्स चालक र बिरामीले निक्कै सास्ती भोग्नुपरेको छ ।
करिब ५ सय मिटर रहेको सो क्षेत्रको सडक पार गर्न धेरै समय लाग्ने गरेको एम्बुलेन्स चालक बताउछन् । ‘एकदम समस्या भयो, बाटो सानो छ, गाडी दिनदिनै बढेको बढैछन, गाँउतिर जाने बस, ट्रक, टिपर जाने अर्को बाटो छैन, के गर्ने एम्बुलेन्स पनि जाममा बस्नु पर्छ ’ अर्का एम्बुलेन्स चालक हरिशरण गोदार मगरले भने ।
सडकको क्षमता भन्दा बढि सवारी साधन गुड्ने र ग्रामिण रुटमा छिर्न विकल्पको सडक नहुँदा त्यस क्षेत्रमा निक्कै समस्या हुने गरेको उनिहरुको भनाई छ । ‘रोड साँघुरो छ, गाडी जत्ति नि गुड्न दिने, कि रोटेशन गर्नु प¥यो, कि सडकको विकल्प खोज्नु परयो’ चालक मगरले भने ।
सो सडकमा सवारीजाम बढेपछि बिरामीलाई समयमा अस्पताल पुरयाउन समेत नसकिएको उनिहरुको गुनासो छ । ‘बिरामी लिन भनेर फोन गर्छन, गेटबाट निस्किने बित्तिकै जाममा परिन्छ, बिरामीलाई मिनेट मिनेटको भ्याल्यु हुन्छ, के गर्ने उडेर जाने सक्ने कुरा ’ एम्बुलेन्स चालक मगरले भने । सो क्षेत्रको सडक अस्तब्यस्त बन्नुमा ट्राफिक समेत दोशी रहेको कतिपयको तर्क छ । ‘यो रोडलाई ट्रफिकले वास्तै गर्दैन, गाडी घण्टौसम्म जाम पर्छ तै पनि ट्राफिक आइपुग्दैन, गाँउतिर जाने गाडी लाइन लाएर राख्छन, बाटोको हालत त्यस्तो छ, अनि काँहबाट जाने’ एम्बुलेन्स चालक कमल बस्यालले भने ।
क्षेत्र नम्बर १ का अधिकांश ग्रामिण सडकमा जाने सवारीको पार्किङ र बसपार्क समेत सोही स्थानमा रहेकाले पनि जाम बढेको स्थानीयको भनाई छ । ब्यक्तिको जग्गा भाडामा लिएर बसपार्क बनाए पनि क्षेत्रफल प्रयाप्त नभएकाले पार्किङमा समस्या भएको छ । ‘बसपार्क नै ठिक ठाँउमा भएन, बस राख्न नि मिल्दैन, यात्रु चढाउन, ओराल्ने ठाँउ समेत छैन, अनि सडकमा पार्किङ नगरे कहाँ गर्ने त?’ बस चालक कृष्ण परियारले भने ।
यता जिल्ला ट्राफिक कार्यालयले पनि जनशक्ति अभाव भएकाले माग अनुसार ट्राफिक खटाउन नसकेको स्विकार गरेको छ । ‘हो त्यहाँ धेरै समस्या छ, हामीले भ्याएसम्म त खटाएका छौ, हाम्रो पनि जनशक्ति पनि कम नै छ, जति गर्नुपर्ने हो त्यति चाहि गर्न सकेका छैनौ’ ट्राफिक दिपक सुनुवारले भने । भुकम्प पछि जिल्लामा सबारी साधन बढेकोले पनि समस्या भएको कतिपयको भनाई छ ।


