- लाप्राकमा टहरामा बस्नेको बिजोग
लाप्राकस्थित मणिकामदेवी माध्यामिक बिद्यालयका प्रधानाध्यापक भवीराज गुरुङका अनुसार बुधबार बिहान चार बजेदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। घर पाउने आशमा टहरोमा बसेका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ।
हिमपातपछि विद्यालय संचालनमा समस्या भएको छ। भवीराजले टेलिफोनमा भने, ‘हिउँ परिरहेको छ, अहिलेसम्म एक फिट हिउँ जमिसक्यो।’
यो वर्ष पहिलो पटक बुधबार हिमपात भएको हो। टहरोका बासिन्दाहरु हिमपातपछि चिसो बढ्ने भन्दै चिन्ता जनाइरहेका छन्। केही भने खेतीपाती राम्रो हुने भन्दै खुसी छन्।
गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्पप्रभावितहरु त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण सुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका थिए। लाप्राकीहरु अधिकांश भने पूरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन्। पूरानो गाउँमा पनि हिमपात भएको स्थानीय तुले गुरुङले पुष्टि गरे।
हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अबरुद्ध भएको छ। हिउँ जमेपछि यो सडकमा ट्याक्टर तथा बोलेरो जीप गुड्न सक्दैनन्। हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ। केहीले हिउँ तताएर पानी पिउने गर्छन्। घाम लागेपछि मात्रै मुलको पानी बग्छ।
मानिसहरु टहरोभित्र आगो तापेर बसेका छन्।
फोटो सौजन्य: भवीराज गुरुङ, लाप्राक
nepalkhabar


