नरेन्द्र ढकाल/गोरखा
माघ १० गते । बगुवामा निर्माण हुन लागेको एकिकृत नमूना बस्तीको काम अलपत्र परेको छ । स्थानीयको पहल र पुननिर्माण प्राधिकरणको समन्वयमा भिमसेन गाउँपालिका वडा नम्बर ५ बगुवाको लामाचौरमा निमार्ण गर्न लागिएको उक्त बस्तीको काम मालपोत कार्यालयका गैर जिम्मेवारीका कारण ढिलाइ भइरहेको खुलासा भएका छ ।
उक्त ठाउँमा बस्ती निर्माणका लागि स्थानीयले किनेको कित्ता नम्बर २१ को ७ रोपनी १५ आना जग्गाको लाजपुर्जा निर्माणमा मालपोतले तदारुकता नदेखाउँदै बस्ती निर्माणको काम रोकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जानकारी दिएको छ । ‘बस्ती निर्माणका लागि जग्गा प्राप्ती भइसकेको छ, तर एक कित्ता जग्गाको मालपोतबाट लालपुर्जा निर्माण हुन नसक्दा काम रोकिने अवस्था आएको छ’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका निमिक्त प्रमुख शिवलाल पौडेलले भने ।
खड्ग बहादुर कामीको नाममा नाप नक्शा भई तत्कालिन नापीमा दर्ता छुट भएको उक्त जग्गा स्थानीयले किनेका थिए । नापजाँच भएको, फिल्ड बुक भएको तर लालपुर्जा नभएको उक्त जग्गा तत्कालिन मालपोत प्रमुख पुरन गिरीको रोहवरमा भरपाई गरी स्थानीयले खरिद गरेका थिए ।
गिरीकै तोकमा उक्त जग्गाको लालपुर्जा बनाउनका लागि जग्गा दर्ता समितिले पुननिर्माण प्राधिकरणमा सिफारिस समेत गरेको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी नारायण भट्टको पहलमा प्राधिकरणले मालपोतलाई जग्गा दर्ता गराई बगुवाको मिलन एकिकृत नमूना बस्तीको काम अगाडी बढाउन अनुमती दिने निर्णय गरेको थियो ।
मालपोतले विभागको राय मागेर उक्त जग्गाको लालपुर्जा दिनुपर्ने भएपनि हाल सम्म उक्त काम नहुँदा बस्ती बिकासको काम अलपत्र अवस्थामा पुगेको हो । मंगलबार लालपुर्जा वितरणका सम्बन्धमा निर्णय गर्न बसेको जग्गा दर्ता समितिको बैठकमा मालपोतले उक्त ७ रोपनी जग्गाका बिषयमा चित्त बुझ्दो जवाफ दिन नसकेपछि बिना निर्णय सकिएको छ ।
‘हामी छलफलमा जुटेका थियौं, केही निर्णय हुन सकेन त्यत्तिकै उठियो’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भने । स्थानीयले आफै जग्गा खोजेर निर्माण गर्न लागिएको उक्त एकिकृत बस्तीका वन कार्यालयसँग समेत जग्गा लिइएको छ । वनसँग सट्टापट्टा गरिएको १३ रोपनी भने लालपुर्जा बनिसकेको छ । १३८ घर निर्माण गर्ने गरी बगुवामा सामुदायिक प्रयासबाट बस्ती बिकास गर्न लागिएको हो ।
मालपोतले लालपुर्जा निर्माणमा लार्पवाही गरे पछि थप काम अन्यौलमा परेको छ । ‘मालपोतले पहिले गरिएको कागजात नै उपलब्ध गराउन सकेन, प्राधिकरणबाट ओसी मगर प्रक्रिया अगाडी बढाउने बारेमा छलफल गरेका छौ’ प्राधिकरणका पौडेलले भने ।
उक्त बिषयका बारेमा जानकारी लिनका लागी मालपोत अधिकृत देबेन्द्र बहादुर थापा बारम्बार टेलिफोन सम्र्पक गर्दा उनको फोन उठेन । एकिकृत बस्ती निर्माणको क्रममा सार्वजानिक पुर्वाधार बाटो,पानी, बिजुली, ढल लगायतको निर्माणका शहरी बिकासले टेण्डर गर्न तयारी समेत गरेको छ ।




















