किरण लोहनी/उज्यालो ।
गोरखा, माघ ९ – नदिजन्य पदार्थको अवैध उत्खनन र निकासीमा संलग्न रहेको आरोप लागेका गोरखाका स्थानीय विकास अधिकारी एलडिओ नारायण आचार्य सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार विरुद्ध खनिनु भएको छ ।
फेसबुकमा स्ट्याटस लेख्दै उहाँले नेपालमा स्वच्छ, निष्पक्ष र तथ्यपरक सूचना प्रवाह गर्ने पत्रकार नभएको आरोप लगाउनु भएको हो । गोरखामा नदिजन्य पदार्थ उत्खनन र संकलनमा भैरहेको मनोमानिका विषयमा केही दिनयता आएका समाचारमा आचार्यको पनि नाम जोडिएको थियो ।
केही ठाउँमा बिना प्रतिस्पर्धा करोडौंको नदिजन्य पदार्थ उत्खनन्को जिम्मा दिइएको र त्यसमा आचार्यको मिलेमतो हुन सक्ने आशंकाका समाचारहरु आएपछि आचार्य सामाजिक सञ्जाल प्रयोग गर्दै पत्रकार विरुद्ध खनिनु भएको हो ।
समाचारमा उल्लेख गरिएका बिषयमा चित्त नबुझे खण्डन छपाउने लगायतका विकल्प हुँदाहुँदै उहाँले पत्रकारिता क्षेत्रमै शंका उत्पन्न हुने गरी सामाजिक सञ्जालमा आफ्ना भनाई व्यक्त गर्नुभएको छ । आचार्यले सबै नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि बिना प्रमाण कसैलाई दोषी देखाउन नहुने बताउनुभएको छ ।
पत्रकारिता पेशाप्रति नै भ्रम सिर्जना गर्ने गरी नेपाल सरकारका एक जिम्मेवार अधिकारीले देशमा एकजना पनि निष्पक्ष र तथ्यपरक समाचार लेख्ने व्यक्ति नभएको भन्दै सामाजिक सञ्जालमा लेख्नु दुखद् भएको गोरखाका सञ्चार संस्थाहरुले जनाएका छन् ।
ujyaaloonline


