गोरखा समाचारदाता
एकलौटी रुपमा केन्द्र सार्ने निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षहरुले भिमसेन गाउँपालिकामा लगाएको ताला आइतबार खोलिएको छ । जिल्ला प्रसाशन कार्यालयको पहलमा भएको छलफलमा दुवैपक्ष बिच ३ बुदँे सहमती भएपछि ताला खोलिएको हो । छलफलमा सर्घष समितिले गाँउपालिकामा लागेको ताला खोलि सेवा प्रवाह नियमित गर्ने, आगामी फाल्गुन १ गतेसम्म साबिककै गाउँपालिका कार्यालयबाट गाउँपालिकाको कामकाज गर्ने, २ गतेदेखि मसेल ध्याम्पेसालबाट सेवा प्रवाह गर्ने र फाल्गुन १ गते सम्म जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुखहरुको बैठक बसि आपसी समझदारी कायम गर्ने सहमती भएको छ ।
गाउँपालिकाको केन्द्र सार्ने बिबाद बढ्दै गएपछि गएको पुस २० गते देखि गाँउपालिकाको कार्यालयमा ताला लगाइएको थियो । कार्यालयमा तालबन्दी भएसँगै भिमसेन गाउँपालिका सबै कामकाज ठप्प हुदै आएको थियो । नेपाली काँग्रेसको बहुमत रहेको भिमसेन गाउँपालिकामा अध्यक्ष ईश्वर पाण्डेले बहुमतले गाँउपालिकाको केन्द्र सार्ने निर्णय गरे पछि माओबादी केन्द्र सहितका पार्टीहरुले केन्द्र बगुवामा नै हुनु पर्ने माग गर्दै आएका थिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, भिमसेन गाउँपालिका अध्यक्ष एव गाउँकार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । यसै विच ताला खोलिसँगै भिमसेन गाउँपालिकाको बगुवामा कार्यक्रम भएको छ । माओवादी केन्द्रको अगुवामा भएको कार्यक्रममा गाउँपालिकाको केन्द्र सार्ने विषय प्राविधिक भएको भन्दै समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि त्यहाँ क्रियाशिल दलहरु विच सहमती नभए सम्म बैचारिक सर्घष जारी राख्ने नेताहरुले बताएका छन् ।
उक्त गाउँपलिकाको केन्द्र घ्याम्पेसालमा राख्ने र नाम परिर्वतन गरि भिमसेन थापा गाउँपालिका बनाउने प्रस्ताव मन्त्री परिषद्ले पारित गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।


