नरेन्द्र ढकाल/गोरखा
पुस २४ गते । जाडो बढे सँगै भुकम्प पिडितलाई सास्ती भएको छ । भुकम्प गएको ३३ महिना बितिसक्दा समेत नयाँ घरमा सर्न नपाएका गरिब, असक्त, बालबालिका, गर्भवती, वृद्धवृद्धा जाडोबाट बढि प्रभावित भएका छन् । ‘घर उभ्याउन सकिएन, यही छाप्रोमा मरिन्छकी क्या हो’ सिम्जुङकी आइतमायाँ गुरुङले भनिन् । उनका छोरा घरमा छैनन् । छोरी मान्छे मात्र रहेको उनको परिवारले अहिले सम्म नयाँ घर बनाउन सकेको छैन् । ‘सबैले घर बनाइसके, हाम्रो त बनाइदिने मान्छे पनि छैन्, घर बनाउने पैसा पनि छैन’ गुरुङले गुनासो गरिन ।
गाउँकै अधिकाशं पिडितले घर बनाउन थाले पनि उनी भने मुग्लान गएका छोराको बाटो हेरिरहेकी छिन् । सौरपानीका विष्णुहरी पनेरुको पनि उस्तै समस्या छ । कामदार नपाएका कारण उनले घर बनाउन पाएका छैनन् । ‘५० हजार त लिएँ, बल्लबल्ल मान्छे खोजेर डिपिसी पनि गरेको छु’ उनले भने । प्रयाप्त कामदार नपाएका कारण उनले त्यसभन्दा माथिको काम गर्न सकेका छैनन् । ‘छोराछोरी घरमा छैनन्, सामान किनेर ल्याउन पनि सक्दिन, काम गर्ने मान्छे पनि पाएको छैन, यसपालीको जाडो पनि टहरामै बित्ने भयो’ निराश हुँदै उनले भने ।
यो समस्या धेरै भुकम्प पिडितको हो । उनीहरु यसवर्षका जाडो पनि टहरामै कटाउँदै छन् । निर्माण समाग्रीको अभाव, दक्ष जनशक्ति प्रयाप्त नहुनु, प्राविधिक ज्ञानको अभाव, गाउँमा युवा नहुनु, इन्जिनियर तथा प्राविधिक जनशक्तिको अभाव जस्ता अनगिन्ती समस्याले पिडितले यो वर्षको जाडो पनि टहराम कटाउनु पर्ने बाध्यता भएको हो । ६० हजार भन्दा बढि घर भत्किएको गोरखामा अहिले सम्म झण्डै ३० प्रतिशत मात्र घर बनेको सरकारी तथ्याङ्क छ । झण्डै ४० हजार भुकम्प पिडित अहिले पनि अस्थायी रुपले बसोबास गरिरहेका छन् ।
शुक्रबार सम्मको तथ्याङ्कमा ५८ हजार ५०३ जनाले पहिलो किस्तो बुझेको गोरखामा, १६ हजार ८५७ ले दोश्रो किस्ता पाएका छन भने ६ हजार १०७ जनाको खातामा तेश्रो किस्ता गएको छ । सरकारले पुस मसान्तको समय सिमा तोकेको, पुस मसान्त नजिकिदै गरेकाले केही दिन यता किस्ता सिफारिसका फाईल भने बढेकोले तथ्याङ्क पनि उक्त तथ्याङ्क बढ्ने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयकी सन्तोषी लामिछानेले बताइन् ।
केही दिन यता अध्याधिक चिसो बढेका कारण भुकम्प पिडितलाई धेरै समस्या भएको छ । अस्थायी टहरामा हावाले सेक्ने, जस्ताबाट सित चुहिने लगायतका समस्या भोग्न बाध्य भएको उनीहरुले बताएका छन् । उत्तरी गोरखामा चिसो बढे सँगै हिमपात पनि भईरहेको छ । त्यहाँका कतिपय भुकम्प पिडित जाडो छल्न, काठमाण्डौ, चितवन, पोखरा र जिल्ला सदरमुकाम झरेका छन् भने गरिब असायहरु गाउँमा कठ्यांग्रिदो जाडो झेल्न बाध्य छन् ।
जाडो बढेसँगै आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । भुकम्प पिडितहरुले झनै चिसोबाट जोगिनु पर्ने उनीहरुको तर्क छ । अस्थायी स्थानमा बस्दा चिसोले बढि सताउने हुँदा, बाक्ला लुगा लगाउने, आगो ताप्ने, प्रयाप्त मात्रामा तातो झोलिलो खानेकुरा खान उनीहरुले आग्रह गरेका छन् ।
चिसोका कारण रुखा खोकी, दम, श्वासप्रश्वास सम्बन्धी रोगका विरामी पनि बढेको स्वास्थ्य सस्थाहरुले बताएका छन् ।


