गोरखा समाचारदाता
भिमसेन गाउँपालिकाका प्रमुुख ईश्वर पाण्डे केन्द्र सार्ने सम्बन्धनमा किर्ते गरेको प्रमाणित भए सजाय भोग्न पनि तयार रहेको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दे पाण्डेले सबै कुरा विधि र प्रक्रियाबाटै भएको दाबी गरे । ‘यदी हामीले किर्ते गरेको कतैबाट प्रमाणित हुन्छ सजाय भोग्न तयार छु, प्रमाणित गरेर देखाउँनुस्’ पाण्डेले भने । गाउँपालिकाको बहुमतले निर्णय गरेको कुरा अनर्गल प्रचार गरिएको भन्दै पाण्डेले भ्रममा नर्पन आग्रह गरेका छन् ।
गत कार्तिक १९ गते बहुमतले केन्द्र सार्ने निर्णय भएको र माइन्युट समेत गरिएको तर्क गर्दै उनले प्रजातन्त्रमा बहुमतको निर्णय मान्न विपक्षीलाई अनुरोध गरेका छन् । ‘केन्द्र सार्ने विषय हाम्रो एजेण्डा नै थिएन,फ्लोरबाट साथीहरुले प्रस्ताव ल्याउनुभयो, हामी सहभागी नहुँदा नै बहुमत भयो, अनि पास गरिएको हो’ पाण्डेले भने । ४४ सदस्य कार्यपालिका रहेको त्यहाँ २५ जना प्रस्तावको पक्षमा र १५ जना विपक्षमा उभिएका थिए २ जना अनुपस्थित रहेको उपप्रमुख बिनु वाग्लेले बताइन् ।
काँग्रेस निकटका २ सदस्यिय भने सो दिन उपस्थित नरहेको तर पछि माइन्युटमा हस्ताक्षर गरेको उनको भनाई छ । केन्द्र सार्ने बिषयमा लामो समय देखि विवादमा रहेको उक्त गाउँपालिकामा अहिले आन्दोलन जारी छ । बगुवामा तोकिएको केन्द्र घ्याम्पेसाल लगिएको भन्दै असन्तुष्ट खेमाले वडा नम्बर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको नेतृत्वमा आन्दोलन चर्काएको छ । उनीहरुले विहीबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका गरेका थिए । शुक्रबारबाट शैक्षिक सस्था र यातायात समेत ठप्प पारेका उनीहरुले केही सबारी साधन तोडफोड समेत गरेका छन् ।
शुक्रबार बन्दको अवेज्ञा गरेको भन्दै लु ४ त ३६६३ नम्बरको ट्याक्टर र ना १२ प ९०१० नम्बरको इन्टाइसर मोटरसाइकलमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । सोही क्रममा मोटरसाइकल चालक यमजी बिकलाइ कुटपिट गरेको प्रहरीले बताएको छ । बिहानै देखि आन्दोलनकारीहरु बन्द गराउन सडकमा उत्रिएका थिए । बन्दका कारण गोरखा आरुघाट सडक खण्डमा सवारी चल्न सकेका छैनन् । आवश्यक सरसल्लाह बिना एकलौटी ढंगल केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरुले बिरोध जनाउदै आएका छन् ।
यता अध्यक्ष पाण्डे ताला खुलाएर काम गर्ने बताएका छन् । ‘कार्यलयमा तालाबन्दी गरेर जनताले सेवा लिन बाट बञ्चित गरिएको छ, हामी यो गैरकानुनी काम सहेर बस्न सक्दैनौं, ताला खोलेर काम गछौं’ उनले भने । जहाँ केन्द्र राख्दा पनि त्यहाँका सबै जनतालाई पायक नपर्ने भन्दै पाण्डेले घ्याम्पेसालमा भौतिक संरचना भरिपुर्ण र पुरानो व्यपारिक क्षेत्र भएकाले त्यहाँ केन्द्र सार्न लागिएको बताए । लोकतन्त्रमा विधि प्रक्रिया मार्फत बिरोध गर्न सकिने भन्दै उनले असन्तुष्ट पक्षलाई छलफलमा आउन पनि आग्रह गरेका छन् ।
यसैविच भिमसेन गाउँपालिकाको केन्द्र सार्ने निर्णयको बिरोधमा उत्रिएका स्थानीयहरुले शनिवार हस्ताक्षर संकलन अभियान थालेका छन । बगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्ने निर्णयको बिरोधमा बिभिन्न वडामा गएर उनीहरुले हस्ताक्षर संकलन गरेकोे संघर्ष समितिले जनाएको छ ।
यता संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा पुगेको उक्त निर्णय नेपाल सरकारले पारित गरिदिएको छ । शनिवार बसेको मन्त्री परिषदको बैठकले भिमसेन गाउँपालिकाको नाम परिर्वतन गरी भिमसेन थापा गाउँपालिका कायम गरेको र केन्द्र पनि कार्यपालिकाको निर्णय अनुसार घ्याम्पेसाल तोकेको छ । सोही क्रममा सुलिकोट गाउँपालिकाको केन्द्रको नाम पनि फेरिएको छ । त्यहाँको गाउँ कार्यपालिकाको निर्णय अनुसार उक्त गाउँपालिकाको नाम बारपाक सुलिकोट नामकरण गरिएको छ भने केन्द्र ताकुकोट नै कायम भएको छ ।

ताकुकोट केन्द्र तोकिएको विषयमा त्यहाँ पनि लामो समय आन्दोलन भएको थियो ।


