- व्यवसायीको कमाउ धन्दा फस्टाउँदो
नरेन्द्र ढकाल/गोरखा
पुस १९ गते । भूकम्प पछिको पुननिर्माणको कामले तिब्रता लिएसँगै निर्माण सामाग्रीमा मनोमानी बढेको पिडितले गुनासो गरेका छन् । जिल्लामा अहिले निर्माण सामाग्रीको भाउ आकासिएको छ । ‘घर बनाउन नसकिने भयो, एक ट्रिप बालुवाको ७ हजार भन्छ्, त्यही पनि आधा ट्क्याटर हुँदैन’ सिरानचोक ७ का बिनोद पाण्डेले भने । निर्माण सामाग्रीका बिक्रेता एवं सप्लार्यसहरुको कमाउन धन्दाका कारण घर बनाउन लागेका भूकम्प पिडित मारमा परेका हुन् । सामानको मुल्यमा भन्दा पनि ढुवानी बढि अनियमिता पाएको छ ।
मुल्य भन्दा ढुवानी भाडा धेरै हुँदा सर्वसाधारण मर्कामा परेका छन् । ‘उद्योगमा ४/५ मै इट्टा पाइदो रहेछ, तर घर सम्म ल्याउँदा एउटै इट्टाको लागत १७ रुपयाँ परेको छ’ सिरानचोक ३ का सूर्य ढकालले भने ‘पैसा जति सबै ढुवानीमा खर्च भएपछि कसरी घर बनाउने खै ?’ यो समस्या जिल्ला भरका भूकम्प पिडितको हो । सरकारले समयसिमा निर्धारण गरेर घर बनाउन ताकेता गरेपछि निर्माणको माग ह्वातै बढेको छ । अहिले जिल्ला सदरमुकामका अधिकाशं व्यवसायीसँग माग अनुसारको समाग्री छैन् ।
यही मौका छोपेर उपभोक्तालाई ठग्ने काम भएको भूकम्प पिडितको आरोप छ । ‘खोलामा ८ सय कर तिरेर उठाएको बालुवा २ घण्टामा घर पु¥याउँदा ७ हजार माग्छ, ठग्नुको पनि सिमा हुन्छ नी’ सिरानचोका पाण्डेले भने । दरौदी नदीबाट साबिकको श्रीनाथकोट बालुवा लैजादा ७ हजार भाडा तिरेको उनले बताए । जिल्ला समन्वय समितिले गोरखाका मुख्य नदिहरु बुढीगण्डकी, चेपे, मस्याङ्गदी र दरौदी कोरिडोरमा गरी १६ घाटमा ठेक्का लगाएको छ ।
सो क्षेत्रबाट भूकम्प पिडितका घर सम्म गिट्टी बालुवा ढुवानी गर्ने ट्याक्टर र ट्रिपरले मनलाग्दी भाडा असुलेका हुन् । पिडितबाट अत्याधिक गुनासो आएपछि सिराचोक गाउँपालिका वडा नम्बर ७ ले सो क्षेत्रका ट्याक्टर तथा ट्रिपर व्यवसायी बोलाएर छलफल गरेको वडा अध्यक्ष सुरज ढकालले बताए । ‘उहाँहरु भाडाको बारेमा सहमत हुनुभएन्, समस्या निकै जटिल भएको छ, सर्वसाधरण मर्कामा परेका छन् ।’ बाटोको अवस्था देखाउँदै व्यवसायी विचबाटोमा सामान झारेर ग्राहक कहाँ थोरै मात्र पुरयाउने समस्याको पनि उत्तिकै छ । उक्त सामाग्री संकलन गरी व्यवसायीले अयन्त्र बेच्ने गरेको पाइएको छ ।
यता जिल्ला दररेट निर्धारण समितिले भने आर्थिक वर्षको सुरुवातमै ढुवानीको दर रेट निर्धारण गरिसकेको छ । जस अनुसार ट्रकले जिल्लाका पक्की सडकमा एक टनको १८ रुययाँका दर प्रतिकिलो मिटर र ४७ रुपयाँ कच्ची सडकमा भाडा निर्धारण गरेको छ । त्यसैगरी ट्याक्टर मात्र चल्ने सडकमा एकटनको १२० रुपयाँ प्रतिकिलो मिटर भाडा तोकिएको छ ।
लोड अनलोड बापत सजिलो सामानको प्रतिटन २० रुपैयाँ ५७ पैसा लिन पाउने व्यवस्था रहेको जिल्ला प्राविधिक कार्यालयका डिभिजन प्रमुख होमनाथ पौडेलले जानकारी दिए । ‘हामीले व्यवसायी सँग बसेर दररेट बनाएका हुन्छौ, उहाँहरुले सोही अनुसार भाडा लिन पाउनु हुन्छ, तोकिएको दररेट भन्दा बढि लिन मिल्दैन’ उनले भने ।
यता प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले व्यवसायीले यदी ठगी गरेको भए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् । ‘हामीले बनाएको दर भन्दा बढि लिएको उजुरी आएमा कारवाही हुन्छ, हामी अनुसन्धान गछौं’ उनले भने । केही दिन भित्र पुर्ननिर्माण प्राधिकरण जिल्ला दररेट निर्धारण समिति र व्यवसायीहरु समावेश गरी छलफल गर्ने बस्नेतले बताए ।
ढुवानी व्यवस्थापनमा सरोकारवालाले ध्यान नदिदाँ सर्बसाधरण भने मर्कामा परेका छन् ।




















