मोहसिन अलि मियाँ/गोरखा
पुस १५ गते । गोरखाको शहिद लखन गाँउपालिका वडा नम्बर ७ का ३ जना अपांग सहित ११ जनालाई घर मै पुगेर नागरिकता दिइएको छ । बुंकोट कोटगाँउ स्थित धनबहादुर श्रेष्ठका ३ अपांग सन्तान सहित अन्य ८ लाई वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोलीले घर मै पुगेर नागरिकता दिएको हो ।
वडा अध्यक्ष शरण श्रेष्ठको सक्रियतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिृकत डिल्लीराम श्रेष्ठ, सहितको टोली शुक्रवार धनबहादुरको घरमै पुगेर उनका आपांग छोराछोरीको नागरिकता बनाइदिएका हुन् ।
जन्मजातै अपांग जन्मिएका आफ्ना छोराछोरीले घर मै नागरिकता बनाइदिन टोली आउदा धनबहादुर खुसीको सिमा नरहेको बताउछन् । नागरिकता बनाउन कै लागि अपांग छोराछोरीलाई गाँउबाट सदरमुकामसम्म लैजान धेरै पटक प्रयास गरेपनि असफल भएका धनबहादुर गह भरी आँसु बनाउदै भन्छन् ‘मलाई त सपना झै लागेको छ आज, मैले त यिनीहरुको नागरिकता बनाउन सकिन भनेर हरेस नै खाएको थिए तर आज यस्तो दिन नि आउदो रहेछ’ उनका दुइ छोरीहरु २९ वर्षीया लीला श्रेष्ठ, २६ वर्षीया शीला श्रेष्ठ र छोरा १८ वर्षीय रावीव श्रेष्ठले नागरिकता पाएका हुन् । तिनै जना पूर्णरुपमा अपांग भएकाले सामान्य हिडडुल गर्न समेत सक्दैनन् । धनबहादुरका ६ सन्तान मध्ये तिन सन्तान जन्मजात अपांग जन्मेका थिए । आर्थिक अवस्था अत्यन्त कमजोर भएका धनबहादुरलाई उनीहरुको पालन पोषण समेत गर्न निकै कठिन रहेको बताउछन् । अरुको निवेक गरेर साझ बिहानको छाक टार्ने गरेको उनको भनाई छ ।

यता वडा अध्यक्ष शरण श्रेष्ठ पनि उनिहरुलाई घर मै गएर नागरिकता दिन पाउदा आफुलाई निकै सन्तोष मिलेको बताउछन् । वडा अध्यक्षको उम्मेदवार भएका बेला घरदैलोका क्रममा धनबहादुरको सन्तानको यस्तो अवस्था देखेका श्रेष्ठले चुनाव जितेपछि घर मै नागरिकता लिएर आउने वचन गरेका थिए । ‘चुनावका बेला घरदैलोमा जादा उनिहरुको अवस्था र समस्या थाह पाएको थिए, त्यै दिन उनिहरुसंग मैले वाचा गरेको थिए, आज पुरा गरे, मनमा शान्ति मिलेको छ, यसरी नै सबै प्रतिवद्धता पुरा गर्दै जान्छु’ वडा अध्यक्ष श्रेष्ठले भने ।
यस कार्यमा आफुलाई तुलसी मेयर युनेस्को क्लबले सघाएको वडा अध्यक्ष बताउछन् । नागरिकता वितरण गर्न सदरमुकामबाट आएको टोलीलाई क्बलले यातायातको समेत ब्यवस्था गरेको थियो ।
सोही अवसरमा शहीद लखन–७ कै वीरबहादुर गुरुङ र बिस्तारी गुरुङको समेत नागरिकता उपलब्ध गराएको छ । पहुँच नभएकै कारण ७३ बर्षसम्म नागरिकता लिनबाट बन्चित वीरबहादुर र बिस्तारीको समेत शुक्रबारै नागरिकता बनाएर उपलब्ध गराएको छ । हालसम्म उनिहरु नगरिकता नभएकै कारण बृद्धभत्ता सहित अन्य सेवा सुविधाबाट बञ्चित हुदै आएका थिए । यस्तै सोही वडाका अन्य दलित विपन्न ६ जनाको समेत नागरिकता बनेको छ ।


