कैलासबावु श्रेष्ठ/गोरखा
पुस १२ गते । आरुआरबाङ्ग आप्रिककी बिपासा गुरुङ अहिले गोरखा सदरमुकाममा इट्टाको गारो लगाउने काम सिक्दै छिन् । पुरातत्व विभागले दिएको दक्ष कालिगढ तालिम लिन सदरमुकाम आएकी उनी दिनभर गोरखा संग्राहालय भित्र अन्य पुरुष सरह ऐतिहासिक संरचना पुननिर्माण गर्दा कस्तो गारो लगाउन पर्छ भनेर प्रयोगात्मक रुपमा ज्ञान बटुल्दै छिन् । ‘म काम सिक्दै छु, निकै रमाइलो लागिरहेको छ, नयाँ कुरा सिक्न पाइएको छु’ गोरखा समाचारसँग कुराकानी गर्दै गुरुङले भनिन् । उनका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा मुग्लान गएका छन् । उनी भने फुर्सदको समयलाई सदुपयोग गर्दै तालिम लिइरहेकी छिन् ।

भुकम्पले भत्काएका ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको पुननिर्माणमा सहयोग पु¥याउने उदेश्यले जिल्लामा पहिलो पटक भएको दक्ष कालिगड तालिममा बिपासा जस्तै ४८ जना कामदारहरुले तालिम लिइरहेका छन् । नेपाल प्रहरीका कृष्णलाल बिक पनि अन्यले जस्तै गाह्रो लगाउने तालिम लिदै छन् ।

प्रहरी सेवामा बाहालवाला बिक अबकास पछि उक्त कामलाई व्यवसायिक रुपले अगाडी बढाउने योजना सुनाउछन् ‘मेरो जागिर पनि सकिन लागेको छ, अहिले काम सिक्न पाए भने, पछि यहि पेशा गर्ने विचार छ ।’ भुकम्पले भत्काएका पुरातात्विक संरचना पुर्ननिमाणमा आवश्यक जनशक्ति तयार गर्ने उदेश्यले आयोजना भएको तालिममा ढुङ्गा, इट्टा तथा झिंगटी र काठको छुट्टाछुट्टै समूह बनाएर तालिम दिइएको पुरातत्व विभागका छविकार ओम बहादुर श्रेष्ठले बताए ।
‘हामीले छुट्टाछुटै रुपमा ३ समूह बनाएर तालिम दिएका छौैं, उहाँहरुको रोजाइ अनुसार ढुङ्गा, इट्टा र कामको तालिम भइरहेको छ ।’ उनले भने । तालिममा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेना सहित सिर्दीबास, तान्द्राङ्ग, लाप्राक, गुम्दा, फुजेल, आरुआरबाङ्ग, जौबारी र गोरखा नगरपालिका क्षेत्र गरी ४८ जनाको सहभागिता छ । ‘यो तालिम निकै राम्रो छ, अहिले यस्तो व्यवहारिक तालिम पाइयो भने पछि त हामीले धेरै राम्रो गर्नसक्छौं’ गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेस्वाँराका अन्दाज बस्नेतले भने ।

भुकम्पले भत्काएका ऐतिहासिक धार्मिक तथा पर्यटिक संरचना पुर्ननिर्माणको काम सुरु नभएका बेला दक्ष कालिगढ तालिम आयोजना गरिनुलाई निकै महत्वका साथ हेरिएको छ । ‘अहिले ढुङ्गाको काम गर्ने कामदार नै पाइन छोड्यो, यस्ता तालिमले नयाँ मान्छे उत्पादन हुन्छकी भन्ने हाम्रो विश्वास हो’ ढुङ्गा काट्ने काम सिकारहेका प्रशिक्षक भक्तपुरका तिर्थराम काशिछवाले भने । पहिलेका ऐतिहासिक धार्मिक सम्पदा निर्माण गर्दा काठलाई कलात्मक किसिमले कुँदेर, विना किलाकाटी तयार गर्ने गरिथ्यो उक्त विधिलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा काठका प्रशिक्षार्थीहरुलाई सिकाएको प्रशिक्षक भरतराज तुलाधरले बताए ।
‘ढोकामा चुचुकुल कसरी राख्ने, कस्तो ठाउँमा कस्तो काठ प्रयोग गर्ने भन्ने जस्ता विभिन्न कुरा तालिम सिकाउँछौ’ उनले भने । पुरातत्व विभागको आयोजनामा भुकम्प प्रभावित जिल्लाहरुमा सञ्चालन गरिएको तालिम गोरखामा भने पहिलो पटक आयोजना गरिएको हो । तालिममा प्रयोगात्मक रुपमा संरचनाहरु समेत निर्माण गरिएको छ । इट्टाको गारो लगाएर मन्दिर, पौवा, घर लगायतका संरचना बनाईएको छ । ‘हामीले उहाँहरुलाई सिकाउँदै यस्तो मन्दिर, पौवा, घर, रिसेप्सन बनाउन लगाएका छौ’ प्रशिक्षार्थीले तयार बनाएको मन्दिरको एक भाग देखाउँदै प्रशिक्षक कृष्ण गोपाल प्रजापतीले भने ।

नेपालमा बिकास भएको प्रविधि र मानिसहरुको जनजिवनमा आएको परिवर्तन परम्परागत सिप ओझेलमा परेको पुरातत्व विभागका छविकार श्रेष्ठको भनाई छ । नेपालमा ठुलो सम्भावना भएपनि दक्ष कालिगढ पेशा तर्फ मानिस आकर्षित हुन नसेको उनले बताए । भुकम्पले पुराना सम्पदाहरुमा क्षति पु¥याएको र ती संरचनाहरुलाई पहिले कै अवस्थामा फर्काउनु पर्ने भएकाले पनि दक्ष जनशक्तिको ठुलो माग रहेको श्रेष्ठले बताए । ‘गोरखामा केही काम गर्नुप¥यो भने काठमाण्डौ, भक्तपुर, ललितपुर बाट मान्छे ल्याउनुपर्छ, त्यसको अन्त्य होस् भन्ने हाम्रो चाहना हो’ उनले भने । यो क्षेत्रमा थुप्रै अबसर रहेको युवा पिढिलाई आकर्षित गर्नुपर्ने उनको जोड छ ।

अन्यथा पुरानो सिप हस्तान्तरण हुन नसके हाम्रो संस्कृति हराउन सक्ने श्रेष्ठको चिन्ता छ । पुस ५ गते बाट सुरु भएको १५ दिने तालिममा काठ काम गर्ने १९, ढुङ्गामा काम गर्ने १२ र ईट्टाको कामगर्ने १७ जना गरी ४८ जनाले तालिम लिइरहेका छन् ।




















