नरेन्द्र ढकाल/गोरखा
पुस १२ गते । भुकम्प पछि गएको पहिरोका कारण बिस्तापित भएको केरौंजा गाउँको बारेमा थप अध्ययन गर्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले एक टोली खटाएको छ । प्राधिकरणका भुगर्भविद् कृष्ण बहादुर थापाको नेतृत्वमा रहेको ३ सदस्यिय टोली ४ दिन सम्म त्यहाँ बसेर अध्ययन गरी प्रतिवेदन बुझाउने राष्ट्रिय पुर्ननिर्माण प्राधिरण जिल्ला समन्यव समितिको सचिवालयका निमित्त प्रमुख शिवलाल पौडेलले बताए ।
‘एक पटक भुगर्भविद् ल्याएर अध्ययन गरिदिनु परयो भन्ने उहाँहरुको माग थियो थियो, सोही अनुसार मैले प्राधिरणमा आग्रह गरेको थिए, अनि साथीहरु खटिनुभएको हो’ उनले भने । खटिएको उक्त टोली आज नै केरौंजा तर्फ हिड्ने बताइएको छ । सरकारले केही घर मात्र स्थानान्तरण गर्न लागेपछि केरौंजाका भुकम्प पिडितले पुरै गाउँ नै स्थानान्तरण गर्नुपर्ने अडान लिएका छन ।
पुननिर्माण प्राधिकरणले ३३९ घर मात्र स्थानान्तरण गर्न सिफारिस गरेपछि स्थानीयले बिरोध जनाएका हुन् । ‘सरकारले यहाँ बस्न हुँदैन तपाइँहरु उठ्नु भने हामी उठ्न तयार छौं भन्नुभाको छ, उहाँहरुलाई सुरक्षित स्थानमा सार्ने हाम्रो प्रयास हो’ पौडेलले भने । केही समय अघि प्राधिकरणले भुगर्भविद् र इन्जिनियर सहितको टोली खटाएर स्थानान्तरण गर्नुपर्ने घरधुरी सर्वेक्षण निर्णय गरे पनि हाल सम्म उक्त काम हुन सकेको थिएन ।
सरकारले केरौंजाको बस्तिबाट स्थानान्तरण गर्नुपर्ने घरलाई २ लाख दिने निर्णय गरेसंगै टोलीले ३ सय ३९ घरधुरी स्थानान्तरण गर्न सरकारलाई सिफारिस गरेपछि स्थानियले असहमती जनाएका थिए । स्थानीयको माग पुरै गाउँनै स्थानान्तर गर्नुपर्छ भन्ने हो । ‘उहाँहरु मध्ये कतिलाई सार्नुपर्ने हो, कहाँ सार्दा उपयुक्त हुन्छ भन्ने अध्ययन टोलीको प्रतिवेदन आउने वित्तिकै हामी काम थाली हाल्छौ’ पौडेलले भने ।
केरौंजाका अधिकाशं पिडितले पहिलो किस्ताको रकम समेत बुझेका छैनन् । पहिरोले पुर्ण रुपमा बिस्तापित भएकाहरु गाउँ भन्दा माथि जंगलको छेउ वा केही आफन्त शरणमा बसिरहेका छन् । सरकारले केरौंजा लगायतका बस्ती स्थानान्तरण गर्दा घडेरी किन्न भन्दै २ लाख अनुदान दिने घोषणा गरिसकेको छ ।
उक्त रकम लिएर स्थानीय आफैले पनि ठाउँको प्रबन्ध गर्न सक्छन भने सरकारले जमिन खोजेर एकिकृत वस्ती बिकास गरी उनीहरुलाई राख्न सक्ने बताइएको छ ।


