नरेन्द्र ढकाल/गोरखा
पौष १ गते । भर्खरै सकिएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनले जिल्लामा क्रियाशिल ४ दललाई म्याण्डेट दिएको छ । २ प्रतिनिधी सभा र ४ प्रदेश सभा गरी ६ सिट रहेको गोरखामा २ दलले २÷२ सिट पाएका छन् भने बाँकी २ दलले १÷१ सिटमा चित्त बुझाउनु परेको छ । लोकतान्त्रिक र बाम गरी दुई गठबन्धन बनाएर चुनाव लढेका दलहरुले गठबन्धनका हिसाब भने समान ३÷ ३ सिट पाएका छन् ।
बाम गठबन्धन क्षेत्र नम्बर १ मा र लोकतान्त्रिक २ मा बिजयी भएका छ । ‘हाम्रो चाहना भनेकोे यी ४ दल मिलेर जिल्लाको बिकास निर्माणको काम गरुनुँ भन्ने हो’ आरुघाटबाट कामको शिलसिलामा गोरखा सदरमुकाम आएका शंकर श्रेष्ठले भने । क्षेत्र नम्बर १ मा माओवादीका नेता हरिराज अधिकारी र दुईमा नयाँ शक्ति पार्टी नेपालका संयोजक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई प्रतिनिधि सभामा विजयी भएका छन । यसैगरी प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी केन्द्रका लेख बहादुर थापा, ‘ख’ मा नेकपा एमालेका रामशरण बस्नेत र क्षेत्र नम्बर २ को ‘क’ नयाँ शक्तिका हरिशरण आर्चाय र ‘ख’ नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएसँगै आगमी ५ वर्षका लागि ४ दललाई जिल्लाको नेतृत्व गर्ने अबसर प्राप्त भएको हो ।
‘समानुपातिकको नतिजा हेर्दा पनि गोरखा जम्मा ४ दल मात्र हुने देखिन्छ, अब यी दल मिलेर प्रतिसोतको राजनिति नगरी जिल्लाको बिकासका लागि काम गर्नुपर्छ’ पालुङटारका अन्नत देवकोटाले भने । समानुपातिकको मतपरिणाम हेर्दा पनि काँग्रेस, माओवादी, नयाँशक्ति र एमाले बाहेक अरु दलले नगन्य अभिमत पाएका छन् । जिल्लामा दुई सिट जितेर समानुपातिकमा सम्मानजनका मत पाएको नयाँशक्ति पार्टी ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेको छैन ।
यो समाचार तयारपार्दा सम्म समानुपातिकको गणना जारी छ । थे्रस होल्ड पार गर्न नसके उसले स्वतन्त्र सांसदको हैसियतमा यहाँको प्रनिधित्व गर्नुपर्ने अवस्था छ । उक्त कुराबाट के प्रष्ट हुन्छ भने जनताहरु पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति, पुराना दलहरु काँग्रेस, एमाले र माओवादी मिलेर जिल्ला समृद्ध बनाउन् भन्ने चाहान्छन् । ‘चुनावको बेलामा पो राजनिती गर्नेे, अब त सबै मिल्नु जिल्लाको बिकास गर्नुपर्छ, केन्द्रमा के हुन्छ हाम्लाई मतलब छैन्, जिल्लामा भने ४ दल मिलेर काम गर्नुपर्छ’ दर्वुङ्गका सन्तबहादुर रानाले भने । ४ दलका मुख्य उम्मेदवार बाहेक अरुले निर्वाचन आयोगले तोकेको १० प्रतिशत मत पनि प्राप्त गर्न नसक्दा धरौटी समेत गुम्ने अवस्था भएको छ ।
राष्ट्रिय रुपमा हेर्दा समानुपातिक तर्फ पनि यहाँबाट प्रतिनिधित्व गरेका अन्य दलले ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेका छैनन् । यद्यपी र्शीष दलहरु नै गठबन्धन बनाएर चुनाव लडे पछि अन्य साना दल र घटक बढारिएका छन् । भुकम्पको केन्द्रबिन्दु यस जिल्लामा यतिका समय बितिसक्दा समेत पुर्ननिर्माणको कामले गति लिन सकिराखेको छैन् ।
राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजना बन्ने नबन्ने अन्यौल छ । मध्येपहाडी राजमार्गको काम पनि सन्तोषजनक छैन, उत्तरी गोरखा हुँदै चिन जोड्ने मोटरबाटो निर्माण, अन्य महत्वपुर्ण सडकहरुको स्तरउन्नती, खानेपानी, विद्युत, सडक, सिञ्चाइ शिक्षा स्वास्थ्य रोजगार जस्ता विषयमा दलहरु मिलेर जिल्लालाई अगाडी बढाउनु पर्ने अवस्था छ । अहिले जनताबाट अनुमोदित यी दलहरुको एउटाको अडानले मात्र जिल्लाको बिकास निर्माण प्रभावित हुन सक्छ ।
त्यसैले निर्वाचनमा पराजित भएका अन्य दल एवं घटकहरुको समेत सुझाव लिएर निर्वाचन जितेका ४ दलले जिल्लाको समग्र नेतृत्व लिनु पर्ने धेरैको तर्क छ ।


