- डाक्टर नै निजी क्लिनिकमा सिफारिस गर्छन
मोहसिन अलि मियाँ/गोरखा
मंसिर २१ गते । सुलिकोट गाँउपालिका ३ स्वाराकी लक्ष्मी बराम बुधबार ९ बजे नै जिल्ला अस्पताल आइपुगिन् । हप्ता दिन अघि देखि बिरामी परेकी बराम एक जना सहयोगीको सहारामा अस्पताल पगेकी थिइन । काउण्टर खुल्ने बित्तिकै टिकट लिएर जाँच गर्ने कोठमा गएकी उनलाई डाक्टरले राम्रोसंग चेकजाँच पनि गरे । तर उनले भिडियो एक्स्रेका लागि निजी क्लिनिकमा सिफारिस गरे । ‘बिहानै आएर टिकट लिएर जचाउन गाको डाक्टरले भिडियो एक्स्रे गर्नुपर्छ भने तर अभिडियो एक्स्रे गर्न चाही बाहिर जानुस भने’ बरामले भनिन् ।
डाक्टरले यसो भनिसकेपछि लक्ष्मीले अस्पताल मै भिडियो एक्स्रे गरिदिन आग्रह गरिन तर डाक्टरले यहाँ सेवा नभएको बताएपछि उनि अलमलमा परिन । बजारमा राम्रोसंग मेसो नपाएकी बरामलाई भिडियो एक्स्रेको रिपोर्ट भने अस्पताल मै ल्याउन डाक्टरले आग्रह गरेका थिए ।
‘अस्पतालमै भिडियो एक्स्रे गरिदिनुस भनेको हामीले अहिले गरेका छैनौ भन्नुभयो, बाहिर गराएर रिपोर्ट चाइ अस्पताल मै ल्याएर मलाई देखाउनुस भन्नुभएको छ’ लक्ष्मी बरामले भनिन ।
एक हप्ता अघि गर्भ खेर गएपछि उनि बिरामी परेकी थिइन । रगत बग्न नरोकिएपछि उनि जिल्ला अस्पताल आइपुगेकी थिइन । ‘सात दिन अघि बच्चा खेर गो, अहिलेसम्म ब्लड रोकिएको छैन, रिंगाटा लागेर हिड्नै सकेको छैन’ उनले दुखेसो गरिन ।
केही बर्ष अघि नै १५ शैयाबाट ५० शैयामा स्तरन्नती भएको जिल्ला अस्पतालले भिडियो एक्स्रेसम्मको पनि सेवा दिन नसक्दा बिरामीहरु मर्कामा पर्ने गरेको कतिपयको भनाई छ । ‘जचाउन चाइ याह आउने अनि औषधी किन्न र अरु चेकजाँच गर्न बाहिर पठाउने कस्तो सेवा हो यो अस्पतालको ?’ बराम संगै आएकी सहयोगीले भनिन् ।
तर अस्पतालले भने सेवा सुचारी रहेको दावी गरेको छ । ‘हामीले सेवा दिराको छौ, सकेसम्म हामीले बिरामी फिर्ता पठाउदैनौ’ गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले भने ।
जिल्ला अस्पतालमा भिडियो एक्स्रे गर्न जनशक्ति अभाव रहेको स्विकार गर्दै डाक्टर तिवारीले सधै सेवा दिन भने नसकेको बताउछन् । ‘हामीसंग मेनपावर नै छैन भिडियो एक्स्रे गर्न, मैले नै हो गर्ने, म बाहिर गाको बेला त ठप्पै हुन्छ, यसमा दुइ मतै छैन’
यता अस्पताल विकास समितीका अध्यक्ष याङ्गनाथ अर्याल भने अस्पतालमा भिडियो एक्स्रे सेवा नै नभएको बताउछन् । केही समय अघि मात्र अध्यक्ष बनेका अर्याल जिल्लामा अन्य अस्पताल क्लिनिकमा भिडियो एक्स्रे भएपछि अस्पतालले भने यो सेवा सुरु नै नगरेको बताएका छन् । ‘हामीसंग भिडियो एक्स्रे नै छैन कहाँबाट सेवा दिनु त ?’ अध्यक्ष अर्यालले भने ।
अस्पताल प्रमुख तिवारी र विकास समितीको अध्यक्ष अर्याल बिचको भनाईले उनिहरु बिच नै समन्वय नभएको प्रष्ट छ । यसले जिल्ला अस्पतालको सेवा र गुणस्तर झनै खस्कदै गएको देखिन्छ । जिल्ला अस्पतालको सेवा प्रभावकारी नहुदा बिरामीहरुले महंगो रकम तिरेर निजि अस्पताल र क्लिनिकहरुमा उपचार गराउन बाध्य छन् । सरकारले निशुल्क दिने भनेको औषधी पनि अस्पतालमा प्राय जसो सकिएको छ भन्दै निजि क्लिनिकमा पठाउने गरेको कतिपयको आरोप छ ।


