नरेन्द्र ढकाल/गोरखा
मंसिर १९ गते । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको एक टोली केरांैजा पुगेको छ । बस्ती स्थानान्तरणका लागि स्थानियको नाम प्रकाशन भएसँगै आवश्यक काम अगाडी बढाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेल सहित इन्जिनियर प्राविधिकहरुको टोली आइतबार केरौजा पुगेको छ । ‘बस्ती स्थानान्तरको काम अगाडी बढाउन हामी केरौंजा जाँदैछौ, एक हप्ता बसेर उक्त कार्य टुग्याउने हाम्रो योजना छ ।’ प्राधिकरण जिल्ला समन्यव समितिका पौडेलले गोरखा समाचार सँगको कुराकानीमा भने ।
आईतवार केरौंजा गएको उक्त टोलीले एक हप्ता सम्म बसेर त्यहाँबाट बिस्तापित हुने र अन्यत्र सर्न चाहानेहरुको निवेदन संकलन गर्ने छ । हाल सम्म ८६ जनाको नाम विस्तापितको सुचिमा प्रकाशित भईसकेको छ । विस्तापितहरु मध्ये आफैले जग्गा खोजेर बस्न चाहानेलाई घडेरी किन्नका लागि २ लाख थप अनुदान पाउने छन् । ‘केही पिडितको नाम प्रकाशित भइसकेको छ, केही छुट्नु भएको छ, हामी स्थलगत रुपमा उहाँको समस्याको अध्ययन गरी आवश्यक व्यक्तिलाई स्थानान्तरणको सिफारिस गर्छौ’ पौडेलले भने ।
सरकारले खोजेको ठाउँमा बस्नेले भने उक्त सुबिधा पाउने छैन तर सरकारले निर्माण गरेको एकिकृत बस्तीमा भने बस्ने पाउने राष्ट्रिय पुनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका शिवलाल पौडेलले बताए । जिल्लाका अन्य ठाउँमा पनि आवश्यकताका आधारमा बस्ती स्थानान्तरको काम अगाडी बढाउने उनको भनाई छ । २०७२ बैशाख १२ को भुकम्प पछि आएको पहिरोका कारण १ दर्जन बस्ती स्थानान्तरण गर्न प्राविधिकहरुले सुझाव दिएका थिए ।


