नरेन्द्र ढकाल/गोरखा
मंसिर १९ गते । मतपेटिका थन्क्याएर राखेको पनि १ साता बित्यो । जिल्लाबासीले मतगणना हुने दिन औला भाँचेर गनिरहेका छन् । आफ्ना प्रतिनिधि चुन्ने महत्वपुर्ण काममा सहभागी भएका मतदाताहरु मतपरिमाणको तिब्र पर्खाईमा छन् । पालुङटार नगरपालिका २ आपँपिपलका कृष्ण मरहट्टा भन्छन् ‘कुराई निकै लामो भयो, चुनाव भएको यतिका दिन भयो, अझै कति दिन कुर्नुपर्ने हो ?’ दोश्रो चरणको निर्वाचन पछि मात्र मतगणना गर्ने निर्वाचन आयोगको निर्णयका कारण मरहट्टा जस्तै धेरै मतदाता मतपरिणाम कुर्न बाध्य छन् ।
नेबिसंघका जिल्ला सदस्य मिलनसिं बस्नेत भन्छन् ‘मतपेटिका कुर्न बसेको पनि १ हप्ता भयो, गणना सुरु हुन अझै २÷३ दिन बाँकी छ परिणाम कहिले आउने हो ।’ माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राजन आलेको भनाई पनि उस्तै छ ‘एकै पटक चुनाव भएको भए नतिजा पनि आईसक्थ्यो, कुराई गा¥हो हुँदो रहेछ ।’
पहिलो चरणको निर्वाचनमा सर्वाधिक चर्चामा रहेको गोरखाको मतपरिणामलाई संसार भरका नेपालीहरुले अध्याधिक चासोका साथ हेरिरहेका छन् । चोकका चिया पसल देखि गाउँका मेलापात सम्म आफू अनुकुलका उम्मेदवारहरुले जित्ने मतदाताहरुको दाबी छ । सबै आफूले भोट हालेका उम्मेदवारले जित्ने तर्क गर्छन् । मुख्यतय दुई गठबन्धनमा बाँडिएर चुनाव लडेका दलहरुको प्रतिस्पर्धा हेर्न लायक भएको विष्लेषकहरुको भनाई छ । जिल्लामा स्वतन्त्र रुपमा मतपरिणामको विष्लेषण गर्ने व्यक्ति नभएको कतिपयको तर्क छ ।
‘सबैले आफ्नो आस्था र बिचारका आधारमा मतपरिणामको विष्लेषण गरिरहेका छन, वास्तविकताको नजिक पुग्ने सामाथ्र्य कसै सँग पनि देखिएन’ एक पेसाकर्मीले भने । सोमबार राती १२ बजेबाट मौन अवधी सुरु भएसँगै दोश्रो चरणको निर्वाचनको निर्वाचन पनि नजिकिएको छ । ‘कस्ले जित्ला त भनेर रेडियोमा कान थापेर सुनेको सुनै छु, अझै दोश्रो चरणको चुनाव नसकी गन्दैन रे’ सिरानचोक ३ हर्मीका विश्वनाथ ढकालले भने । जिल्लाबासीको प्रतिक्षाको घडी आगामी बिहीबार साँझ ५ बजेबाट सकिने जिल्ला निर्वाचन कार्यालयले गोरखाले बताएको छ । अन्य जिल्लामा साँझ ५ बजे निर्वाचन सकिएसँगै यहाँको मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले बताए ।
‘अब प्रतिक्षाको घडी छोट्टिदै छ, २१ गते साँझबाट नै गणनाको काम सुरु हुन्छ’ उनले भने । सोका लागि आवश्यक तयारी समेत सुरु भईसकेको छ । मतगणना गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थापन समेत सकिएको सापकोटाले बताए । ‘हामीले मतगणनाका लागि ६० जना कर्मचारीहरु छनोट गरी अभिमुखिकरण समेत गराइसकेका छौ’ । सोका लागि निजामति सेवा तर्फका राजपत्र अंकित द्धितिय, तृतिय श्रेणी र केही नायव सुब्वा तहका कर्मचारीहरु छनौटमा परेका छन् ।
उनीहरुलाई २ समूहमा विभाजन गरी एक समूहले क्षेत्र नम्बर १ को र अर्को समूहले २ को गणना गर्ने व्यवस्था मिलाईएको छ । दुई समूह भित्र पनि थुप्रै उपसमूहहरु बनाएर पालोपालो मतगणना गर्ने सापकोटाले बताए । मतपेटिका भण्डारण गरिएको कोठामा तिन समूह बनाएर मतगणना गर्ने निर्वाचन कार्यालयको योजना छ । तिन वटा समूह बनाएर प्रतिनिधी सभा, प्रदेश सभा र समानुपातिक तर्फको मतगणना एकैपटक गर्ने भनिए पनि गोरखामा ठाउँ अभाव नहुुने देखिएको छ ।
मतपेटिका भण्डारण गरिएको ठाउँमै मतगणना हुने कार्यालयले स्पष्ट पारेको छ । करिव दश दिन भित्र मतगणना कार्य पुर्ण रुपलेसम्पन्न हुने कार्यालयको अनुमान छ । कडा सुरक्षा घेराका विच गोरखा क्षेत्र नम्वर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय र २ को मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।
सुरक्षाकर्मी सँगै दलका प्रतिनिधिहरुले पनि मतपेटिका भण्डारण गरिएको स्थानको सुरक्षा दिईरहेका छन् ।




















