मोहसिन अलि मियाँ/गोरखा
मंसिर १८ गते । घर बनाउन कामदार नपाउदा भुम्लिचोकका भुकम्प पिडितको यो साल पनि टहरो मै बास हुने निश्चित बनेको छ । भुकम्प गएको ३१ महिना पुरा भैसक्दा समेत कामदार अभावका कारण भुकम्प पिडितको अझै घर बन्न नसक्दा समस्या भएको हो । ‘गाँउमा घर बनाउने ७–८ जनाको टोली छ, यत्रा घर छन्, सबैले पालैपाले बनाउने भनेका छन्, पालो कहिले आउने हो थाहा छैन’ गण्डकी गाँउपालिका वडा नम्बर ६ का इन्द्र गुरुङले भने ।
घर बनाउन भन्दै निजि आवास अनुदान अन्तरगतको पहिलो किस्ता लिएका गुरुङले कामदार नपाउदा घर पुनःनिर्माणको काम अलपत्र परेको बताउछन् । ‘घर बनाउन घडेरी खारेर राखेको ६/७ मैना भैसक्यो, पालो कुर्दा कुर्दा यो बर्ष सकिएला जस्तो पो भो त’ साविकको भुम्लिचोक वडा नम्बर ४ मा हालसम्म १० प्रतिशत पनि घर बन्न नसकेको भन्दै उनले गाउँमा निर्माण समाग्रीको समेत अभाव भएको बताउछन् । घर बनाउने समाग्री पाउनै कठिन भएको र पाए पनि किन्नै नसकिने गरी महंगी बढेको उनको भनाई छ । ‘खेताला पाको बेला सामान हुदैन, सामान भाको बेला खेताला हुदैन, तनावै भैसक्यो’ गुरुङले भने ।
करिब ३० घर धुरी रहेको सो गाँउमा सबै घर भुकम्पले भत्काएको थियो । लामो समय सरकारी अनुदान कुरेर टहरामा दैनिकी बिताएका उनिहरुले सरकारी अनुदान त पाए तर घर बनाउन कामदार भने पाएनन् । गाँउका अधिकांशले पहिलो किस्ता लिइसकेको बताउने उनिहरुले कामदार अभावकै कारण घर पुननिर्माणमा ढिलाई भएको बताउछन् । ‘बल्ल बल्ल ५० हजार त पायौ, तर कामदारै पाइदैन, ३ बर्ष हुन लागिसक्यो टहरा मै बसेको, यो बर्ष नि जाने भो’ स्थानीय बुद्धिमायाले भनिन ।
पाँच जनाको घर बनेपछि आफ्नो पालो आउने भन्दै बुद्धिमाया जाडो बढेकाले समस्या भएको बताउछिन् । ‘दिनदिनै जाडो बढेको बढ्यै छ, टहरोको बास छ, जिउ जोगाउनै गाह्रो भो’
गाँउमा आएका कामदारले हालसम्म ८ वटा घर बनाइसकेको र अन्य ५ वटा डिपिसी गरेर छोडेको स्थानीयको भनाई छ । एउटा घर सम्पन्न हुन करिब ४५ दिन लाग्ने बताउदै ठेकेदार हरिनारायण भन्छन् ‘रेगुलर कामै गर्न पाएका छैनौ, कहिले सामान हुदैन, कहिले केही मिल्दैन, काम गर्न साथीहरु नि कम नै छन्’ भुम्लिचोकको सो बस्तीमा कामदारसंगै पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयको भनाई छ । पानीकै कारण पनि पुननिर्माणको काममा ढिलो भइरहेको उनिहरु बताउछन् ।
गाँउमा भरपर्दो पानीको श्रोत नहुदा घर बनाउन त परको कुरा खान समेत धौ–धौ परेको कतिपयको दुखेसो छ । ‘यहाँ पानीको एकदम समस्या छ, खानै नपुग्ने पानी छ, घर बनाउन त परको कुरा’ स्थानीय कृष्ण रानाले भने ।


