गोरखा समाचार
आइतबार सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिल्ला घर ६५.३४ प्रतिशत मतदान भएको छ । उत्तरी गोरखाका २८ केन्द्रको मतपेटिका ल्याइएसँगै जिल्ला निर्वाचन कार्यालय उक्त तथ्य सार्वजानिक गरेको हो । ‘प्रारम्भिक जानकारी अनुसार हामीले ६२/६३ प्रतिशत मत खसेको भनेका थियौ, सबै मतपेटिका कलेक्सन भएपछि उक्त प्रतिशत बढेको छ’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने । सोमबार उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका २८ मतदानकेन्द्रका मतपेटिका हेलिकप्टरमा ल्याइएपछि जिल्ला निर्वाचन कार्यालयले आधिकारिक तथ्याङ्क सार्बजानिक गरेको हो ।
कुल १ लाख ८९ हजार ४ सय ४८ मतदाता रहेको गोरखामा १ लाख २३ हजार ७ सय ८१ मतदाताले भोट हालेको कार्यालयले जानकारी दिएको छ । ‘स्थानीय निर्वाचनमा भन्दा केही अनुपातमा मत कम खसेको पाईयो’ सापकोटाले भने । स्थानीय निर्वाचनमा झण्डै ७२ प्रतिशत मत खसेको गोरखामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा झण्डै ७ प्रतिशत कम मत खसेको हो । उक्त निर्वाचनमा भन्दा २० हजार ४०२ मतदाता थपिएका छन् ।
निर्वाचनको समय अनुकुल नहुँदा मतदाताको संख्या कम भएको कतिपयको आंकलन छ । गाउँमा खेतिपातीको मौसम हुनु, काम व्यापार व्यवसायमा लागेकाहरुलाई आवश्यक विदाको प्रबन्ध नहुँदा उनीहरु देशका विभिन्न शहरहरुबाट गाउँ फर्कन नसकेका कारण पनि कम मत खसेका धेरैको तर्क छ । नेपालको पछिल्लो राजनितिक घटनाक्रम, दलहरु विचको गठबन्धन एवं तालमेलका कारण पनि कतिपय मतदान गर्न गाउँ सम्म नपुग्नुले कम भोट खसेको देखिन्छ ।
निर्वाचन अघि सुरक्षाका विषयलाई लिएर भएको अड्कलबाजीलाई पनि कतिपयले मतदाताको कम सहभागिता सँग जोडेका छन् । निर्वाचन बहिष्कार गरेकाहरुले बम पड्काउनले उम्मेदवार लक्षित आक्रमण गर्ने जस्ता कार्य गर्नाले पनि केही मतदाता भोट हाल्न गएनन् ।




















