- कडा सुरक्षा घेरामा शिलबन्दी गरी भण्डारण
नरेन्द्र ढकाल/गोरखा
उत्तरी गोरखाको मतपेटिका सदरमुकाम ल्याइएको छ । पहिलो चरणको निर्वाचन अन्र्तगत आइतवार सम्पन्न भएको मतदान पछि बिकट उत्तरी चुमनुब्री र धार्चे गाउँपालिकाका २८ केन्द्रको मतपेटिका सोमबार सदरमुकाम ल्याइएको हो । ‘अब सबै मतपेटिका सदरमुकाम आईपुगेको छ, हामीले पहिलो चरणको कार्य सफलता पुर्वक सम्पन्न गरेका छौ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने । मतदान सकिएपछि आईतबार साँझ शिलबन्दी गरी सुरक्षित स्थानमा राखिएको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको हो ।
सोमबार बिहान लोकतान्त्रिक गठबन्धनका नेता हरि बहादुर घले, बामगठबन्धनका नेता चुडामणी खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटा लगायतको टोलीले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा पुगेर मतपेटिका संकलन गरी सदरमुकाम ल्याएको हो । ‘सडक पुगेका ठाउँमा गाडीबाट र नपुगेका ठाउँमा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरी सुरक्षित स्थानमा भण्डारण गरेको छौ’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने । २८२ मतदान केन्द्र मध्ये २५८ केन्द्रको मतपेटिका आइतबार राती अबेरसम्म स्थल मार्ग हुँदै जिल्ला सदरमुकाम ल्याइएको थियो । सबै मतपेटिका सदरमुकाममा ल्याएसँगै निर्वाचनको पहिलो चरणको काम सकिएको छ ।
कडा सुरक्षा घरेका विच शिलबन्दी गरेर मतपेटिकाहरु भण्डारण गरिएको छ । आइतबार भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका मतपेटिकाहरु दोश्रो चरणको निर्वाचन अघि सम्मका लागि सुरक्षित रुपमा भण्डारण गरिएको हो । ‘दलहरुको सहमतीमा कडा सुरक्षाका साथ मतपेटिका स्टोर गरेका छौ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ‘राखिएका कोठाहरु शिल गरिएको छ, सुरक्षाकर्मीहरु २४ घण्टा तैनाथ रहने छन् ।’
जिल्ला ल्याईएको मतपेटिकाहरु क्षेत्र नम्बर १ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालयमा र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको बैठक कक्षमा भण्डारण गरिएको छ । मतपेटिका भण्डारण गरिएको कोठामो ३ वटा ताल्चा लगाइएको छ । प्रशासन र दुई गठबन्धनको तर्फबाट १÷१ गरी ३ वटा ताल्चा लगाएर शिल्ड गरिएको छ ।
दोश्रो चरणको निर्वाचन पछि मात्र मतगणना कार्य सुरु गर्ने सरकारको निर्णय अनुसार कडा सुरक्षाका साथ मतपेटिका भण्डारण गरिएको हो । मतदानमा जस्तै त्यहाँ पनि तिन घेराको सुरक्षा व्यवस्था गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा शसस्त्र प्रहरी र तेश्रो घरेमा नेपाली सेनालाई सुरक्षार्थ परिचालन गरिएको छ । मतपेटिका राखिएको महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिलाई काँडे तारेले घेराऊ गरिएको छ । उक्त स्थानको दलका प्रतिनिधिहरुले भने निग्रानी गर्न पाउँनेछन् ।
आगामी मंसिर २१ गते दोश्रो चरणको निर्वाचन सकिए लगतै सोही दिन साँझबाट मतगणनाको कार्य सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताए ।


