नरेन्द्र ढकाल/गोरखा
बहु–प्रतिक्षित गोरखाको निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचनमा सर्बाधिक चर्चामा रहेको गोरखाका २८२ मतदान केन्द्रमा शान्तिपुर्ण तबरले मतदान सकिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘हाम्रो अथक मेहनत र आम जिल्लाबासीको महत्वपुर्ण सहयोगले मतदान कार्य शान्तिपुर्ण रुपमा सकिएको छ’ उनले भने । र्शीष नेताहरुको चुनावी प्रतिपर्धाका कारण देश तथा बिदेशमा चर्चा रहेको गोरखाको निर्वाचन सौहार्दपुर्ण ढङ्गले सकिएको छ ।
पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पुर्वउपप्रधामन्त्री नारायणकाजी श्रेष्ठ एकै क्षेत्रबाट निर्वाचन लडेका थिए । एक समय माओवादी पार्टीका दुई उपाध्यक्ष समेत रहेका नेता द्धोयले प्रतिस्पर्धा गरेको गोरखा क्षेत्र नम्बर २ का सबै मतदानकेन्द्रहरुलाई अतिसंबेनशिलको सुचिमा राखेर बिशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।‘हामीले केन्द्र कर्मचारी पुग्नु अघि नै सुरक्षाकर्मी खटाएर शान्ति सुरक्षाको बलियो आधार निर्माण गरिसकेका थियौ,सुरक्षा समितिले बनाएको रणनिति अनुसार नै निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ’ प्र्रजिअ बस्नेतले भने ।

गोरखामा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले दाबी गरेको छ । एक लाख ८९ हजार ४४८ मतदाता रहेको गोरखामा ६३ प्रतिशत मत खसेको हो । ‘उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका २४ बुथको आधिकारिक डाटा आएको छैन्, प्राप्त तथ्याङ्कलाई आधार बनाउँदा ६३ प्रतिशत मत खसेको देखिएको छ’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने । उक्त तथ्याङ्क स्थानिय निर्वाचन भन्दा झण्डै १० प्रतिशत कम हो ।
स्थानीय तह निर्वाचनमा जिल्लामा झण्डै ७२ प्रतिशत मत खसेको थियो । २८२ मतदान केन्द्र मध्ये २५८ केन्द्रको मतपेटिका आईबार राती अबरसम्म जिल्ला सदरमुकाम ल्याइएको छ । भौगोलिक रुपमा बिकट चुमनुब्री र धार्चे गाउँपालिकाका २४ बुथको मतपेटिका भने सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम ल्याउने तयारी छ । ‘२४ केन्द्रको मतपेटिका हामीले कडा सुरक्षाका साथ सुरक्षित ठाउँमा राखेका छौ, अन्य सबै जिल्ला आइसेको छ’ सापकोटाले भने‘बाँकी भोली हेलिकप्टरमा ल्याउछौं ।’
जिल्ला ल्याईएको मतपेटिकाहरु क्षेत्र नम्बर १ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालयमा र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको बैठक कक्षमा भण्डारण गरिएको छ । दोश्रो चरणको निर्वाचन पछि मात्र मतगणना कार्य सुरु गर्ने सरकारको निर्णय अनुसार कडा सुरक्षाका साथ मतपेटिका भण्डारण गर्न लागिएको हो ।
आगामी मंसिर २१ गते दोश्रो चरणको निर्वाचन सकिए लगतै सोही दिन साँझबाट मतगणनाको कार्य सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताए ।


