- २७ मतदान केन्द्रको सामाग्री हेलिकप्टरमा ढुवानी
नरेन्द्र ढकाल/गोरखा
मंसिर ७ गते । उत्तरी गोरखामा आवश्यक मतदान सामाग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । सदरमुकामबाट भौगोलिक रुपमा अति बिकट उक्त क्षेत्रमा भरियालाई बोकाएर मतदान सामाग्री लैजान असम्भव भएपछि जिल्ला २७ केन्द्रको मतदान सामाग्री हेलिकप्टर मार्फत लगिएको हो । ‘हेलिकप्टर मार्फत लैजानु पर्ने सबै ठाउँमा आवश्यक सामाग्री पु¥याईसकेका छौ’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने ।
बुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत काशीगाउँ, खोर्लाबेसी, सिर्दीबास, छेकम्पारका मतदानकेन्द्रका लागि मतपेटिका, मतपत्र र अन्य सामाग्री लगिएको हो । यसैगरी प्रोकको नामुरुङ, छेकम्पार पनि बुधबार नै हेलिकप्टर मार्फत लगिएको छ । ‘चुम नुब्री र धार्चेका सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्री र कर्मचारी साथीहरु पुगिसक्नु भएको छ’ जिल्ला निर्वाचन अधिकारी सापकोटाले भने ।
सो क्षेत्रमा पैदल मार्फत जाने कर्मचारीहरु पनि पुगिसकेका छन् । २८२ मतदान केन्द्र रहेको गोरखामा सुगम क्षेत्रका १३१ मतदान केन्द्रमा आज सामाग्री लैजाने तयारी छ । ‘आसपासका गाउँपालिकाहरुमा खटिनुभएका साथीहरु बिहान फष्ट आवर मै सामाग्री बुझेर हिड्नु हुन्छ’ उनले भने ‘गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका साथीहरुलाई भने २ बजे सम्म बिदाई गर्ने तयारी गरेका छौ ।’
आजबाट जिल्लाका सबै मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारी आवश्यक सामाग्री सहित पुग्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । हेलिकप्टर मार्फत मतदान सामाग्रीको ढुवानीको क्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी, जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटा लगाएको टोलीले त्यहाँका मतदान केन्द्रहरुको निरिक्षण एवं अवलोकन समेत गरेको छ ।
मतदान गराउन पुगेका कर्मचारीले पनि आज बाटै काम सुरु गर्नेछन् । ‘उहाँहरुले पुग्ने बित्तिकै देखि आफ्नो अनुकुलतामा काम थाल्नु हुन्छ, मतदान पुर्व गनुपर्ने थुप्रै कामहरु हुन्छन्’ निर्वाचन अधिकारी सापकोटाले भने । उनीहरुले मतदान अधिकृतको नेतृत्वमा सर्बदलिय, सर्बपक्षिय बैठक गरी मतदान स्थलको चारकिल्ला तोकेर आवश्यक सूचना प्रकाशन गर्नेछन् ।
चारकिल्ला तोकेको, मौन अवधी शुरु भएको, शान्ति सुरक्षा र मतदान केन्द्रको ३ सय मिटर भित्र मादक पदार्थ बिक्रि बितरण रोक लगाउने सुचना प्रकाशन गरी सर्बसाधरणलाई जानकारी गराउनु पर्छ । त्यसपछि मतदान स्थल निर्माण गर्ने, आचारसंहिता बारेमा दलका प्रतिनिधी र स्थानीयसँग छलफल समेत गर्ने छन् । ‘निर्वाचन अधिकृतले गर्नुपर्ने थुप्रै कामहरु हुन्छन्, उहाँहरुले स्थानीय सरोकारवालाहरुको समन्वयमा ती कामहरु गर्नुहुन्छ’ सापकोटाले भने ।
त्यसपछि ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने कार्यसूचि बनार्ईको छ । केही समय अघि मात्र स्थानीय निर्वाचनमा धेरैले मतदाता परिचय पत्र बुझिसकेकाले नयाँ मतदातालाई मात्र परिचयपत्र बितरण हुनेछ । निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखिकरण गराएर कार्यविभाजन गर्नेछन् । ‘निर्वाचन आयोगले दिएको म्याडेड अनुसार उहाँहरुले निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न आवश्यक सबै काम गर्नुहुन्छ’ निर्वाचन अधिकारी सापकोटाले भने ।
मतदानका दिन दलका प्रतिनिधिहरुको रोहवरमा मतपेटिका र मतपत्रको सिल खोल्ने बन्द गर्ने काम निर्वाचनमा खटिएका कर्मचारीले गर्नेछन् । साँझ ५ बजे निर्वाचन सकिए पछि उक्त मतपेटिकाको सार्वजानिक मुचुल्का गरि आवश्यक सिल गरेर मतगणना स्थल सम्म ल्याउनुपर्छ । क्षेत्र नम्बर १ को प्रदेश सभा सहितको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालय र क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा भण्डार गरेर राखिने छ ।
अन्य जिल्लामा दोस्रो चरणमा हुने निर्वाचन सकिए लगत्तै भण्डार गरेर राखिएको मतपेटिका खोलेर गणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । मतपेटिका भण्डार र सुरक्षाका लागि आवश्यक सबै तयारी सकिएको बस्नेतको भनाई छ ।


