किरण लोहनी/उज्यालो
गोरखा, मंसिर ४ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डाक्टर बाबुराम भट्टराइले जित्नु भनेको कांग्रेसले जितेसरह हुने बताउनुभएको छ । राजनीतिक रुपमा भट्टराईसँग थुप्रै असहमति भए पनि राजनीतिज्ञका रुपमा देशलाई भट्टराईजस्ता नेता चाहिने उहाँले बताउनुभयो ।
कांग्रेससँगको सहकार्यमा भट्टराईले चुनावी प्रतिस्पर्धा गरेको गोरखाको क्षेत्र नम्बर –२, अन्तर्गत भच्चेकमा आयोजित कार्यक्रममा थापाले भन्नुभयो, ‘कांग्रेसले भोट हालेर डाक्टर भट्टराईलाई जिताउदै गर्दा कांग्रेस बलियो हुन्छ, कांग्रेसको विचारले बल प्राप्त गर्छ ।’ भट्टराईको प्रसंशा गर्दै थापाले आफूले संगत गरेका नेताहरुमध्ये उहाँ निकै मन परेको बताउनुभयो । ‘कतिपय विषयमा उहाँसँग असहमति हिजो पनि थिए आज पनि छन् ।’ उहाँले भन्नुभयो, ‘तर नेपाली राजनीतिज्ञका हिसावले म उहाँलाई उच्च सम्मान गर्छु ।’
नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा भट्टराईसँग घण्टौं कुरा गर्ने गरेको थापाले बताउनुभयो । ‘मैले संगत गरेका नेताहरुमध्ये आम जनताको जीवनस्तर उकास्ने भन्नेदेखि अस्पतालमा बिरामी किन पुग्दैनन् भनेर कोही शीर्ष नेतासँग घण्टौं कुरा गर्न पाएको छु भने डाक्टर भट्टराईसँग गरेको छु’, थापाले भन्नुभयो । नेपालीहरुको जीवन बदल्ने विषयमा भट्टराईले हिजो पनि र आज पनि सोचिरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य थापाले त्यसको सबैले प्रसंशा गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका गगन थापाले आउँदो चुनावलाई जनमत संग्रहका रुपमा पनि व्याख्या गर्नुभयो । ‘यो चुनाव सामान्य चुनाव मात्रै होइन, जनमत संग्रह हो’, उहाँले भन्नुभयो । ‘संविधान जोगाउन र संविधान कार्यान्वयन गर्नका लागि र प्रजातन्त्रलाई बचाइराख्ने कि नराख्ने भन्ने विषयमा यो जनमत संग्रह नै हो’, थापाले संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षाका लागि कांग्रेस दृढ रहेको बताउनुभयो ।
यसअघि थापाले गोरखाको आरुघाटमा आयोजित सभालाई पनि सम्बोधन गर्नुभएको थियो । सभामा बोल्दै थापाले माओवादी र एमालेको वामगठवन्धनको आलोचना गर्नुभयो ।
ujyaaloonline


