नरेन्द्र ढकाल/पालुङ्गटार
गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डाक्टर बाबुराम भट्टराईको पक्षमा एकै मञ्चबाट एक दर्जन नेताले भोट मागेका छन् । लोकतान्त्रिक गठबन्धनले पालुङ्टारमा गरेको चुनावी सभालाई संबोधन गर्दै गठबन्धन आबद्ध विभिन्न दलका नेताले भट्टराईका पक्षमा भोट मागेका हुन् । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले डाक्टर भट्टराई जित लोकतन्त्रको जित भएकाले उनलाई जिताउनुपर्ने बताए । ‘डाक्टर भट्टराइलाई भोट हालेर जिताउँनुस्, मुलक भर लोकतान्त्रिक शक्तिले जित्नेछन्, अनि मुलकमा लोकतान्त्रिक शक्तिको सरकार बन्छ’ कोईरालाले भने ‘त्यसपछि बिकास समृद्धिको ढोका खुल्छ ।’ काँग्रेसका समानुपातिक उम्मेदवार समेत रहेका उद्योगपती विनोद चौधरीले डाक्टर देशको आर्थिक उन्नतीमा डाक्टर भट्टराई जस्ता व्यक्तिको आवश्यकता रहेको भन्दै गोरखार्ली जनताले उक्त सौभाग्य पाएको बताए ‘तपाइँहरु त निकै भाग्यमानी हुनुहुँदो रहेछ, डाक्टर भट्टराई जस्ता व्यक्तिलाई चुनेर पठाउँदै हुनुहुन्छ ।’ उनलार्ई बिकास प्रेमी व्यक्तिको रुपमा चित्रण गर्दै चौधरीले भट्टराईले अर्थमन्त्री हुँदा २१ वटा राष्ट्रिय गौरबको योजना अहिले पनि मुलुकको प्राथमिकतामा रहेको बताए । २०४८ सालमा नेपाली काँग्रेसले सुरु गरेको आर्थिक क्रान्ति राजनितिक संक्रमणले प्रभावित भएको भन्दै अब नयाँ संकल्पका साथ जनताको जनजिविका माथि उठाउने गरी काम सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य एवं पूर्व शिक्षा मन्त्रि देवी ओझाले गोरखाले स्थापित गरेको न्याय नपाए गोरखा जानू भन्ने उखान चरित्रार्थ गर्नुपर्ने अबस्था आएको बताए ।‘हामी न्याय नपाए गोरखा जानू भने गथौं अब बाबुरामलाई तपाइँहरुले न्याय दिनुपर्ने बेला आएको छ’ ओझाले भने । गोरखामा बाबुराम भट्टराई लगायत लोकतन्त्रबादीको जित सुश्चित भएको बाहिरबाट आफूले देखेको भन्दै उक्त कुरा व्यवहारमा उर्तान उनले गोरखार्ली जनतालाई आग्रह गरे । लामो समय कम्युनिष्ट पृष्ठभुमी राजनिति गरेका ओझाले अहिले नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको दाबी गरे ।

काँग्रेस नेतृ कमला पन्तले आफू पार्टीको केन्द्रिय सदस्य हुँदा हुँदै पनि कठिन परिस्थीतिका कारण उम्मेवार नबनेर डाक्टर भट्टराई समर्थन गरेको बताएकी छिन् । पालुङ्टारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन् ‘डाक्टर सापले जिल्लाको बिकास र राष्ट्रको समृद्धिका लागि महत्वपुर्ण काम गर्नुभएको छ, हामी उहाँलाई बाहिर राख्न सक्दैनौं ।’ द्वोन्द्वकालमा पनि गोरखाका निमुखा जनतालाई हत्या गर्नु हुन्न भनेर डाक्टर भट्टराईले आवाज उठाउँदा प्रचण्डले श्रम शिविरमा राखेर कारवाही गरेको भन्दै उनले भट्टराई पहलमा माओवादीको अबतरण भएको बताईन् । पन्तले गोरखामा लोकन्तान्त्रिक गठबन्धनको जित भईसकेको दाबी गरेकी छिन् । काँग्रेसका अर्का केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गठबन्धनको जित हुने देखिएपछि बाम गठबन्धनका नेताले मनपरी बोल्दै हिढेको आरोप लगाएका छन् । ‘आठ कक्षा पढेको मान्छेले बोलेको कुरा पिएचडी गरेकाले खण्डन गर्न सुहाउँदैन, त्यसैले बाबुरामजीले उहाँहरुले बोलेको खण्डन गर्न आवश्यक छैन्’ उनले भने । काँग्रेस जिल्ला सभापती हरी बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका सहमहामन्त्री प्रेम कुमार श्रेष्ठ, मुस्लिम सघंका केन्द्रिय सभापती अब्दुल सतार, नयाँशक्ति पार्टीकी केन्द्रिय सदस्य करिष्मा मान्धर, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापती गोबिन्द्र गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कंडेल, आदीबासी जनजाती महासघंका अध्यक्ष जगत बराम, दलित सघंका केन्द्रिय सदस्य ईश्वर परियार, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल, नेपाली काँग्रेसकी नेतृ रबीकला खनाल, नयाशक्ति पार्टी नेपाल पालुङ्टारका संयोजक अशोक देवकोटा,शहिद सुरेश वाग्लेका छोरा दिपक वाग्ले लगायत लोकतान्त्रिक गठबन्धनका पक्षममा मत मागेका थिए ।

तस्बिर सौजन्य ईमान जंङ्ग बानियाँ




















