गोरखा समाचार
केही वर्ष अघि सम्म एकनासे ढुङ्गाले छाएको बारपाक, गोरखाको नमूना गाउँको रुपले चिनिन्थो । गुरुङ र घलेहरुको बाहुल्यता रहेको उक्तका गाउँका सबै घर ढुङ्गाले छाईएको थियो । नमूना पर्यटकिय गाउँको रुपमा ख्याती कमाएको बारपाकलाई धेरैले लाहुरेहरुको गाउँ भनेर पनि चिन्थे । बेलायती सेना, सिंगापुर प्रहरी, भारतिय सेना जस्ता ठुला देशका सेनाहरुमा काम गरी बहादुर देखाएका बारपाकीहरु अधिकाशं धनि मानिन्छन् । धेरै बारपाकीहरुको देश विदेशमा पनि घर एवं बसोबास छ । तर उनीहरु सबैको गाउँमा पनि घर थियो । भुकम्प अघि बारपाक पुग्ने कसैले पनि घर धुरी हेरेर धनि र गरिबको घर छुट्याउन सक्थेन । अहिले भने परिस्थिति फेरिएको छ । ‘भुकम्पले त बारपाकमा धनि र गरिब छुट्याईदियो, सक्नेले महल ठड्याएका छन्, हामी जस्ताको झुप्रोमा बास भएको छ’ स्थानी धनकुमारी घलेले दुखेसो गरिन् । भुकम्प गएपछि अधिकाशं बारपाकीहरुले पक्की घर बनाएका छन् । ढुङ्गाले छाएको परम्परागत घर कसैको पनि रोजाईमा परेको छैन् । ढुङ्गाको छानोले किच्दा धेरै मानिसले भुकम्पमा ज्यान गुमाएको भन्दै कसैले पनि ढुङ्गाले छानो छाएका छैनन् । पक्की घर बनाउन नसक्नेले पनि ढुङ्गा माटो गारोमा जस्ताले छाएर घर बनाएका छन् । यति बेला जस्ताले छाएको छानाले बारपाक रङ्गिचङ्गी भएको छ ।
मानिसहरुले आफ्नो क्षमता अनुसारका पक्की घर बनाए पछि गरिब र धनीको भेद खुलेको हो । ‘भित्र हामी जे जस्तो भए पनि बाहिर मिलेर बसेका थियौ, अहिले त बाहिरै देखिने गरी उदांगो भएको छ’ स्थानिय शुक्रबहादुर गुरुङ्गले भने । झण्डै १५ सय घरधुरी रहेको बारपाकमा भुकम्पले धनि र गरिबको खाडल बनाएको भन्दै स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । अनुदानको पहिलो किस्ता बुझेर जस्ताले बारेमा अस्थायी टहरो बनाई बसेकी धनकुमारी भन्छिन्‘पैसा हुनेले महल बनाए सरकारले अरु पैसा दिए पनि म त घर बनाउन सक्दिन यहीँ टहरामा मर्न हो ।’ उमेरले ६० बसन्त टेक्दै गरेकी उनको जस्तै व्यथा बारपाकका गरिब तथा आय स्तर कम भएका अधिकाशंमा छ । पहिले दुई तले ढुङ्गाले छाएको एकनासे घरहरु भएको बारपाकमा अहिले ५ तले पक्की घर समेत बनिसकेका छन् । भुकम्पको केन्द्रबिन्दु समेत रहेको त्यहाँ आधा भन्दा धेरै पिडितले घर बनाईसके पनि बिपन्न बर्ग र घर बनाउने जमिन नभएकाहरुले अझै घर बनाउन सुरु गरेका छैनन् ।
भुकम्पले छुट्याईदियो बारपाकका धनि र गरिब
भुकम्पले छुट्याईदियो बारपाकका धनि र गरिब
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


