कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २४ गते । नेपालको चर्चित गोरखाको मनकामना मन्दिर जिर्णोद्वारको काम ९५ प्रतिशत भन्दा बढि सकिएको जिर्णोद्धार समितिले जनाएको छ । २०७२ साल फागुनबाट निर्माण काम सुरु भएको उक्त मन्दिरको माथिल्लोे तलाको छाना छाउने काम भईरहेको जिर्णोद्वार समितिका सह–सचिव दिनेश जोशीले जानकारी दिए । ‘हामीले लगभगका काम सक्यौ, अहिले माथिल्लो तलाको छानाको काम भईरहेको छ’ उनले भने । उक्त मन्दिरको अहिले सम्म माथिल्लो तलाको छाना बाहेकको सबै काम सकिएको छ । तल्लो तलाको छाना, ढोका, झ्याल, खम्बा तथा मुर्ती सहितको टुंडाल समेत राखी सकिएको मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापा मगरले बताए ।
बर्षेनी ३० लाख भन्दा बढी भक्तजन आउजाउ गर्ने उक्त मन्दिरको माथिल्लो तलमा राखिने तामाको पातामा र मुल ढोकामा सुनको जलप अर्थात मलम्बा गर्न बाँकी बाँकी रहेको जिर्णोद्वार समितिका सह सचिव जोशीले बताए ।

बिक्रम सम्बत १९९० साल र ०७२ साल बैशाख १२ को बिनाशकारी भूकम्पले क्षेति पु¥याए पछि जगै देखि भत्काएर मन्दिर जिर्णोद्वार सुरु गरिएको हो । १९९० सालमा आएको भूकम्पले मन्दिर दक्षिण पश्चिममा ६ ईन्च ढल्किएको तथ्य सार्वजानिक भएपछि नै मन्दिर जिर्णोद्धारको चर्चा चलेको थियो । २०७२ सालमा आएको बिनाशकारी भूकम्पले पुरै भाग जिर्ण भएको भन्दै सोही वर्षको फागुन १५ गते जग पूजा गरीे भत्काउन थालिएको हो ।
काम थालनी भएको २ बर्ष भित्र सर्वसाधारणका लागि मन्दिर खुल्ला गर्ने भनिए पनि झण्डै ३ वर्ष भन्दा बढि समय लाग्ने भएको छ । काम सकिएपछि पनि विधिवत रुपमा साईत हेरी पूजा गरेर मात्र सर्वसाधरणको पुजाआजाका लागि मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ । सोही अनुसार ०७५ साल बैशाख पञ्चमीका दिनमा विविशेष पूजा गरी मन्दिर खुल्ला गर्ने तयारी भै रहेको मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले जानकारी दिए ।

मनकामना मन्दिर तत्कालिन राजा रामशाहका छोरा पृथ्वीपति शाहले निर्माण गरेको भन्ने इतिहास छ । उक्त तथ्य अनुसार यो मन्दिर ३ सय ५० वर्ष भन्दा पुरानो हो । मन्दिरलाई बिक्रम सम्बत २०२६ सालमा सामान्य मर्मत बाहेक केही गरिएको थिएन ।
मन्दिरको छानामा प्रयोग गरिने तामाको पाता जापान बाट झिकाईएको हो । मन्दिर जिर्णोद्वारका लागि १५ करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
मन्दिरमा पहिलो पटक मुल द्वारमा सुनको जलप
मनकामना मन्दिरको मुलद्वारमा पहिलो पटक सुनको जलप लगाईने भएको छ । देशका धेरै जसो मन्दिरहरुमा मुलद्वारमा सुनको जलप लगाउने चलन अनुसार मनकामना मन्दिरमा पनि पहिलो पटक मुलढोकामा सुनको जलप लगाउने तयारी गरिएको हो । छानाको तुलनामा बढी सुनको प्रयोग हुने मुलद्वारमा प्रति ईस्क्वाएर फिट १ तोलाको दरले लगाईने मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापाले बताए ।
१५ किलो सुन प्रयोग हुने
मनकामना मन्दिर जिर्णोद्वारको अन्तिम चरण आईपुग्दा मन्दिरमा लागत भन्दा बढी सुन प्रयोग हुने भएको छ । जिर्णोद्वारको समयमा ९ किलो सुन भए पुग्ने अनुमान गरिएको भए पनि अहिले १५ किलो सुन आवश्यक हुने देखिएको छ ।
मन्दिरको पहिलो र दोस्रो तलामा रहेको तामाको छानामा सुनको जलप लगाउन ९ किलो सुन भए पुग्ने अनुमान गरिएको थियो । मन्दिरका मुल पुजारी सहित जिर्णोद्वार समितिका पदाधिकारीहरुले देशको विभिन्न भागमा रहेको बौधनाथ गुम्बाको अध्ययन पछि सुन बढाउने निर्णय गरेको हो । थप सुनको लागि निर्णय भै सकेको खरिद प्रकृया पनि पुरा भएको छ ।
जिर्णोद्वारका लागि पहिले ९ किलो ९ सय ४० ग्राम सुन आवश्यक हुने भनिएको थियो । उक्त समयमा १ तोला सुन बरावर ४ स्क्वाएर फिट लगाउने भनिएको भएता पनि अहिले १ तोलाले २ स्क्वाएर फिटमा मात्र सुन लागने भएको हो । मुल पुजारी थापाका अनुसार दुई तलाको छानाको लागि १३ किलो ७ सय ४० ग्राम र बाँकी सुन मन्दिरको मुलद्वारमा लाग्ने छ ।



