मोहसिन अलि मियाँ/गोरखा
कार्तिक २२ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचको मतपत्र जिल्ला आइपुगेको छ । १ लाख ८९ हजार ४ सय ४८ मतदाता रहेको गोरखामा मतदाता संख्या भन्दा १० देखी १५ प्रतिशत बढि मतपत्र जिल्ला आएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । निर्वाचन आउन १८ दिन बाँकी रहदा कार्यालयले तयारी तिब्र बनाएको छ । २ सय ८२ मतदान केन्द्र र २ सय १३ मतदान स्थल रहेको गोरखामा कार्यालयले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
‘निर्वाचन आउन अब धेरै दिन बाँकी छैन, हाम्रो तयारी तिब्र रुपमा अघि बढेको छ । आन्तरीक तयारी अन्तिम चरणमा पुगिसक्यो’ कार्यालयका जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने ।
निर्वाचन मतदाता शिक्षा अघिका लागि स्वयम सेवक समेत छनौट भइसकेको बताउदै उनले केही दिनमै उनिहरुलाई कार्यक्षेत्रमा पठाउने तयारी भएको बताए । तर आयोगले मत पत्र छपाइमा गरेको ढिलाइका कारण मतदाता शिक्षा कार्यक्रम समेत प्रभावित भएको छ । यस अघि नै मतदाता स्वयम सेवक खटाउन तालिका बनाएको कार्यालयले मतपत्र छपाइमा ढिलो हुने भएपछि कार्यक्रम स्थगित गरेको थियो । ‘हामीले १५ र १६ गते नै स्वयम सेवकलाई तालिम दिएर फिल्डमा पठाउने तयारी गरेका थियौ, तर आयोगले मतपत्र छपाउन ढिलो गरेकाले मतदाता शिक्षा कार्यक्रम पनि रोकेका थियौ, अब मतपत्र पनि आयो केही दिनमै हामी कार्यक्रम सुरु गर्दैछौ’ कार्यालयका निर्वाचन अधिकारी सापकोटाले भने ।
त्यस्तै कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताहरुको छनौट गरेको छ । जस अनुसार जिल्लामा २ सय ८२ जना मतदाता शिक्षा कार्यकर्ता छनौट गरिएको कार्यालयले जानकारी दिएको छ ।

मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदाताहरुलाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा जिल्ला समन्वय समिती अन्तरगत गाँउपालिकाका वडाहरुमा कार्यरत ७७ जना सामाजिक परिचालक, २८ जना महिला स्वास्थ्य स्वयम सेविका र १ सय ७७ जना स्थायी शिक्षकलाई कार्यक्रममा खटाइने सापकोटाको भनाई छ ।
उनिहरुलाई आगामी २४ र २५ गते अभिमुखिकरण दिएर सोही दिनदेखि १५ दिनको नियुक्ती दिएर कार्यक्षेत्रमा खटाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत सहित अन्य कर्मचारी खटाउने योजना बनाएको छ ।
त्यसका लागि जिल्लामा निर्वाचन सञ्चालनका लागि कार्यालयले ३ हजार १ सय भन्दा बढि कर्मचारी खटाउने बताएको छ । निर्वाचन सञ्चालनमा खटिने कर्मचारीलाई आगामी २६ देखि २९ गतेसम्म तालिम दिने तयारी गरेको छ ।


