कात्तिक ८, २०७४ गोरखा : गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । संघीय समाजवादी फोरम नेपालका सुकदेव तामाङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारबाट नाम फिर्ता लिएका हुन्। त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क बाट उम्मेदवारी दिएका राप्रपा प्रजातान्त्रिकका रुद्रराज पाण्डेले पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार हरिशरण आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
भट्टराई गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नयाँ शक्ति पार्टीकै हरिशरण आचार्यले उम्मेदवारी दिएका छन् । राप्रपा प्रजातान्त्रिकले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भने उम्मेदवारी नै दिएको छैन। गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेका छन् ।
तामाङ र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा १ बमोजिम उम्मेदवारी फिर्ता लिएका हुन् । आज दिउँसो १ बजे सम्म उमेद्वारी फिर्ता लिने समय सिमा रहेकोले पाण्डेले १२ बजे र तामाङले १२ : ५० बजे गोरखा क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा गई उम्मेदवारी फिर्ता लिएका हुन् ।
पहिलो चरणको निर्वाचन भएका क्षेत्रमा संघीय समाजवादी फोरमले नयाँ शक्ति नेपाललाई सहयोग गर्ने र दोस्रो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालले फोरमलाई सहयोग गर्ने दुई पार्टीको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको तामाङले बताए।
thahakhabar


