मोहसिन अलि मियाँ/गोरखा
असोज ३१ गते । भुम्लिचोककी बुद्धिमायाँ चेपाङलाई अहिले घर बनाउने चटारो छ । गण्डकी गाउँपालिका वडा नम्बर २ पुजारी टोलका चेपाङहरु अहिले पर्व लगाएर एक अर्काको घर बनाउँदै छन् । ‘गाउँमा काम गर्ने मान्छे छैनन, यतिका घर बनाउँछ ’ बुद्धिमयाँले भनिन् ‘सबै मिलेर एउटाको घर बनाउँछौ, त्यो सकिएपछि अर्कोको पालो आउँछ ।’
करिब २० घर धुरीमा चेपाङ समुदाय बसोबास गर्ने पुजारी गाँउमा सबै घर भुकम्पले भत्काएको थियो । लामो समय सरकारी अनुदान कुरेर टहरामा दैनिकी बिताएका उनिहरुले सरकारी अनुदान त पाए तर घर बनाउन कामदार भने पाएनन् । गाँउका अधिकांशले पहिलो किस्ता लिइसकेका बताउने उनिहरुले कामदार अभावकै कारण घर पुननिर्माणमा ढिलाई भएको बताउछन् । ‘बल्ल बल्ल ५० हजार त पायौ, तर कामदारै पाइदैन, पाए पनि लगाइ साध्येका हुदैनन, महङ्गा’ ४८ बर्षिय बुद्धिमायाले भनिन ।

घर बनाउन कामदार अभावसंगै ज्याला समेत महंगो भएका कारण पुजारीटोलका चेपाङहरु घर निर्माणमा आफै कस्सिएका छन् । गाँउमा घर बनाउने पाइदै पाइदैन, बाहरिबाट ल्याउदा धान्नै नसकिने ‘हामी त आफ्नो गाँउ आफै बनाउन पर्म लागाउदै छौ, खेताला एक त पाइदै पाइदैन, पाए पनि छोइ साध्ये छैन, त्यो भन्दा आ–आफै मिलेर बनाउन लागेको’ सोही गाँउका सञ्जय चेपाङले भने ।
उनीहरुले अहिले सम्म आधा दर्जन घर बनाईसके । अझै गाउँमा धेरै घर बनाईसक्नु पर्ने भएकाले पर्म लगाएर काम गरिरहेको उनीरुको भनाई छ । अधिकाशं विपन्न सिमान्तकृत चेपाङ समुदायको बस्ती रहेको त्यहाँ पैसा खर्चेर घर बनाउन सक्ने कोही छैनन् ।

गाँउमा अधिकांशले पहलो किस्ता लिएका भए पनि दोस्रो किस्ता लिने भने अत्यन्त कम रहेका छन् । गाँउका सबै मिलेर पर्म लगाएर घर बनाउनु पर्दा काम भने अत्यन्त सुस्त गतिमा भएको उनिहरुले बताएका छन् । ‘धेरै घर छ, पालैपालो बनाउनु परयो, कहिले सकिने हो कहिले’ २२ बर्षिय सञ्जयले भने ।
भुम्लिचोकको सो बस्तीमा कामदारसंगै पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयको भनाई छ । पानीकै कारण पनि पुननिर्माणको काममा ढिलो भइरहेको उनिहरु बताउछन् । गाँउमा भरपर्दो पानीको श्रोत नहुदा घर बनाउन त परको कुरा खान समेत धौ धौ परेको कतिपयको दुखेसो छ । ‘यहाँ पानीको एकदम समस्या छ, खानै नपुग्ने पानी छ, घर बनाउन त परको कुरा’ स्थानीय सुनिता चेपाङले भनिन् ।




















