असार २, २०७३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डेढ वर्षभित्रै तीन वटै निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको घोषणा झूठो भएको बताएका छन् ।
उनले वर्तमान सरकारको भविष्य अनिश्चित रहेको संकेत गर्दै प्रधानमन्त्री ओलीकै पार्टी एमाले र सत्तामा रहेका नेताहरुको फरकफरक धारणाले निर्वाचन गर्ने घोषणा झूठो भएको बताए ।
‘सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले बजेट भाषणपछि सरकार परिवर्तन हुने भन्छन् । एमालेका नेताहरु झलनाथ खनाल, माधबकुमार नेपाल लगायतले पनि सहमतिको सरकार आवश्यक रहेको बताइरहेका छन्,’ बिहिबार नेपालगन्जका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘त्यसैले यस्तो अवस्थामा वर्तमान सरकारले तीन वटै निर्वाचन घोषणा गर्नु भूठो हो ।’
उनले संविधान कार्यान्वयनको जिम्मेवारी कांगे्रसले लिने बताए । उनले कांग्रेसले संविधान जारी गरी २००७ सालदेखिको सपना पूरा गरेकाले कार्यान्वयनको नेतृत्व गर्ने बताए । ‘लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस हो । त्यसैले लोकतान्त्रिक संविधाको कार्यान्वयन पनि हामीले गर्छौ,’ उनले भने ।
कांग्रेस केन्दि्रय सदस्य दिपक गिरी, किशोरसिंह राठोर र गगन थापाले पनि कार्यकर्ता सम्बोधन गरेका छन् ।
ekantipur


