गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई नगद राहत रकम प्रदान गरिएको छ ।
वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट नगद रकम उपलब्ध गराइएको हाे ।
धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक ३ लाख र घाइतेलाई ६ लाख २ किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो । सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक १ लाख ५० हजारका दरले र घाइतेलाई ३ लाखका दरले उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।
साेही बाढी पहिराेमा परेका कम्पनीका कर्मचारी रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतबाहेक थप ७ लाख दिने सहमतिअनुसार पहिलो किस्ताको ३ लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।
कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उनको भनाइ छ । गएको साउन १३ गते रेसेफाँटको पहिरोमा परेर एकै परिवारका ३ जनासहित ५ जनाले ज्यान गुमाएका थिए ।
गाउँपालिका र कम्पनीबीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो ।
पहिरोमा परी घाइते भएका दिलीप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै १ लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले बताए । गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।




