गाेरखा । गोरखा नगरपालिकाले पर्यटन बर्ष २०८१ को प्रचारप्रसारका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधानमा स्टिकर टाँस्न सुरु गरेकाे छ ।
नगरपालिकाले जिल्लास्थित यातायात व्यवसायीसंग छलफल गरेर पर्यटन बर्षको प्रचारका लागि सवै सार्वजनिक यातायात बस तथा माइक्रोबसहरुमा ‘स्टिकर’ राख्न थालिएको हो ।
‘‘सहमति अनुसार सार्वजनिक सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालिएको हो, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘‘यातायात व्यवसायीलगायतका सरोकारवालासंग उपस्थितीमा झण्डै ४० भन्दाबढी बस तथा माइक्रोबसमा ‘स्टिकर’ टाँसिएको छ ।’’
बाँकी रहेका सवारी साधनहरुमा भने सम्बन्धित टिकट काउन्टर, सम्बधित यातायात व्यवसायीले आफैले ‘स्टिकर’ टाँस्ने व्यवस्था मिलाइएको नगरप्रमुख रानामगरले जानकारी दिए । त्यस्तै सवारी साधनमा पर्यटन बर्षको प्रचारका लागि नगरपालिकाले प्रकाशन गरेका ब्रोसर, बुकलेटलगायतका सामाग्रीसमेत उपलब्ध गराइएको छ ।
गोरखाबाट बिभिन्न शहरहरुमा आवातजावत गर्ने सयौँ सवारी साधनमा पर्यटन बर्षको ‘स्टिकर’ टाँस गरेपछि ‘गोरखा पर्यटन बर्ष २०८१’ को व्यापक प्रचार हुने अपेक्षा गरिएको उनको भनाई छ । सोही अवसरमा नगरपालिकाले स्टिकर टाँस्न बाँकी रहेका सवारी साधनमा ‘स्टिकर’ टाँस्नका लागि सम्बन्धित टिकट काउण्टर र यातायात व्यवसायीलाई आवश्यक पर्ने ‘स्टिकर’ उपलब्ध गराइएको छ ।



