गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा हिमपात भएको छ ।
जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि आज विहान ४ बजेसम्म हिमपात भएको स्थानीयबासी वीरबहादुर लामाले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नम्बर २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात परेको उनले बताए । हिमपातका कारण स्थानीयबासीलाई घरबाहिर निस्कन समस्या भएको छ । ‘‘हिजो दिउँसोदेखि आज विहानसम्म नै लगातार हिमपात भइरहेको थियो’’ लामाले भने, ‘‘हिमपातका कारण चिसो अत्याधिक बढेकाले जनजीवन प्रभावित भएको छ ।’’
हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरु सामागाउँमा नै रोकिएका छन् । ‘‘आज विहानदेखि हिमपात रोकिएपछि पर्यटकहरु गन्तव्यतर्फ अगाडी बढेका छन्, पर्यटक लिएर सामागाउँ पुगेका पथपर्दशक सूर्य खनालले भने,‘‘ विहान ४ बजेपछि हिमपात रोकिएको र मौसम पनि खुलेकाले अहिले सहज भएको छ ।’’
हिमपातले लार्केपासको पदमार्ग पुरै ढाकेको छ । शनिबार लार्केपासतर्फ हिडेका विदेशी पर्यटकको एकटोली सामागाउँमा रहेको होटलमा आश्रय लिएर बसेको थियो ।
हिमपातले चिसाेबढे पनी स्थानिय भने खुशी नै छन् । अहिलेकाे हिमपातले अन्न बालीलाई राम्राे हुने भएपछी स्थानिय खुशी भएका हुन् ।
तस्बिर : निमा दाेर्जे नुब्री साम्दाे



