गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धीलाई उल्ट्याउने र कमजोर पार्ने षडयन्त्र भइरहेको बताएका छन् । माओवादी केन्द्र गोरखाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रम सोही दिशातर्फ अगाडी बढीरहेको बताएका हुन् ।
‘‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको यो समावेशी लोकतन्त्र यसलाई पनि कमजोर पार्ने, उल्ट्याउने र सम्पूर्ण रुपले प्रतिक्रियावादी गणतन्त्रमा झार्ने कोसिस पनि भइरहेको छ, अध्यक्ष दाहालले भने, ‘‘तर यहीँ गणतन्त्रलाई समाजवादी गणतन्त्रतर्फ सोझ्याउने चुनौती र अवसर हामीलाई पनि छ ।’’
उनले समाजवादप्रति आस्था राख्ने जनयुद्ध र जनआन्दोलनबाट आएका सकारात्मक शक्तिहरुले यसलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोडदिए । माओवादीले चुनवाङ बैठकमा निकालेको निस्कर्ष जस्तै नेपाली राजनीति त्यहीँ अवस्थामा आइपुगेको अध्यक्ष दाहालले दावी गरे ।
‘‘सम्झौताबाट प्राप्त गणतन्त्र हाम्रो मात्र गणतन्त्र हुनेछैन, बुर्जुवा र पुँजीपतिको पनि गणतन्त्र हुनेछ र हामी त्यहाँ पुगेपछि फेरी जनताको गणतन्त्र हुने वा प्रतिक्रियावादीको गणतन्त्र हुने भन्ने नयाँ लडाई सुरु हुन्छ भनेर निस्कर्ष निकालेकै हो, उनले भने, ‘‘प्रतिगमनतर्फ जाने या क्रान्तिलाई निरन्तर अगाडी बढाउने यो २ वटा कुराको छिनोफानो हुने दिशातिर नेपालको अहिलेको राजनीति जाँदैछ ।’’
पहिलो संविधानसभाको निर्वाचनमार्फत जनताले दिएको निक्कै ठूलो विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्विकार गर्दै अध्यक्ष दाहालले इतिहासको मत फर्केर हेर्नुपर्ने आवश्यकता रहेको वताए ।
‘‘अव सवै माओवादी शक्तिहरु २ दशक लामो आत्मासमिक्षा, समग्र समिक्षा तिर हामी केन्द्रीत हुनुपर्ने बेला आएको छ, उनले भने,‘‘कहाँ कहाँ गल्ती गर्यौ, कहाँ कहाँ सही गर्यौ, २०६४ को त्यो उभारलाई किन बचाउन सकेनौ भन्ने निस्कर्ष निकाल्नुपर्ने ठाउँमा हामी आइपुगेका छौँ ।’’


