गोरखा । चाडपर्वको अवशर पारेर गोरखा बजारको फुटपाथमा गैर कानुनी ब्यापार हुने गरेको भन्दै मसला तथा किराना ब्यवसायी संघले आज सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको छ ।
संघले शुभ दिपावलीको अवसरमा गोरखा बजारको सडक पेटी तथा फुटपाथमा गैर कानुनी रुपमा दर्ता नगरी भाइ मसला तथा खुल्ला रङको बिक्री हुने गरेको भन्दै त्यस्तो कार्य रोक्नका लागि सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको अध्यक्ष अरबिन्द गुप्ताले जानकारी दिए ।
उनले संघको हालै बसेको कार्य समिति बैठकले समेत त्यस्तो कार्य रोक्ने निर्ण गरेको बताए । ‘पेटी तथा फुटपाथमा हुने ब्यापारले राज्यलाई कर तिरेर ब्यापार गर्नेलाई असर गर्छ’ उनले भने ‘त्यस्ता स्थानमा अखाद्य भाइ मसला तथा खुल्ला रङ बिक्री हुने गर्दछ ।’
सरोकारवालाहरुलाई बुझाएको ज्ञापन पत्रमा ‘बाहिरका ब्यापारीहरु साथै अन्य गैर ब्यवसायहरुले विगत बर्षमा बाहिरी जिल्लाबाट आई ब्यवसाय गरे, गराएकोले यहाँका भाडावाल, कर तिरेका ब्यापारीहरुलाई धेरै मर्का परेको’ भन्दै ‘सो कार्य बन्द गरी ब्यवस्थित तथा उपभोत्ता हित अनुकुल बातावरण बनाउन सहजीकरण’ गरिदिन भनेको छ ।
यदी त्यस्तो कार्य रोक्न नसकी पेटी तथा फुटपाथमा गैर कानुनी ब्यापार गरीएमा आफुहरुले पनि फुटपाथबाटै ब्यापार गर्न बाध्य हुने पनि ज्ञापन पत्रमा भनिएको छ ।
संघले आज जिल्ला प्रशासन, गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, गोरखा नगरपालिका वडा नम्बर ६ को कार्यालय, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश र पर्यटन तथा उद्योग कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएको छ ।


