गोरखा । ऐतिहासिक एवं पुरातात्विक गोरखा दरर्बारमा आज बिहानै गोरखाकाली देवीलाई गर्भ गृहमा सारीएको छ । बिहानको झिसमीसे उज्यालोमा देवीलाई गर्भ गृहमा सारीएको गोरखा दरर्बारका मुल पूजारी सारदाप्रसाद भट्टराईले बताए ।
‘बिहान ५ बजेतिर दरर्बारको कैलास कोठाबाट गर्भ गृहमा देवी सारीयो’ उनले भने ‘परम्परा अनुसार घटस्थापनाको दिनमा देवीलाई कैलासबाट गर्भ गृहमा ल्याउने पराम्परा छ ।’
गर्भ गृह अर्थात पूजा कोठामा देवीलाई सार्ने काम दरबारका सुसारेहरुले गर्दछन् । देवी गर्भ गृहमा आउनासाथ मुल पूजारी सहितका टोलीले देवीलाई नुहादिएर विशेष पूजा गर्ने गर्दछन ।
देवीलाई गर्भ गृहमा ल्याउन साथ पानी घडी थाप्ने पराम्परा रही आएको छ । पानी घडीको साईत अनुसार बिहान ८ घडी १५ पला अर्थात बिहानको ९ः१६ बजे देशैभर जमरा राखिने छ ।
गोरखा दरर्बारमा जमरा राखे लगत्तै देशैभरका हिन्दुहरुले आ–आफ्नो घरको पूजा कोठामा जमरा राख्ने गर्दछन् ।
मुल पूजारी भट्टराईका अनुसार अहिले गर्भ गृहमा पूजाका सामाग्रीहरु भित्राउने काम भई रहेको छ । बिहान १० बजेसम्म उक्त सामाग्री भित्राए लगत्तै शैलपुत्री भगवतीको विधिवत पूजा गर्ने गरीन्छ ।
पूजा पूर्व ९ जना ब्राह्मणहरुले अहिले साङ्गपाङ्ग पाठ गरी रहेको पनि उनले जानकारी दिए ।
यसै बिच आज गोरखा दरर्वार र गोरखनाथ गुफामा तथा तल्लो कोटमा एकै साथ बिहान ८ घडी १५ पला अर्थात बिहानको ९ः१६ बजे जौको जमरा राखिने छ ।



