गोरखा । जिल्लाको चुमनुब्री, धार्चे र सिरानचोक गाउँपालिका बाहेकका अन्य स्थानिय तहमा २७२ जनामा डेंगु र स्क्रब टाईफस देखिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक बर्षको साउनदेखी भाद्र ३ गतेसम्म उक्त संख्याका संक्रमित फेला परेको हो ।
कार्यालयका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालका अनुसार संक्रमण देखिएका स्थानिय तहहरुमा १५२ जनमा डेंगु र १२० जनमा स्क्रब टाईफस देखिएको छ ।
उनका पछिल्लो समय गोरखा संग सिमा जोडिएको तनहुँको आँबुखैरेनी गाउँपालिमा डेंगुका संक्रमितको संख्या ह्वात्तै बढेकाले छिमेकी पालिकामा पनि त्यसका असर देखिएको हो ।
आँबुखैरेनी गाउँपालिका संग सिमाना जोडिएको गोरखा नगरपालिका र शहिद लखन गाउँपालिमा पनि संक्रमितको संख्यामा नाटकिय ढंगले बढेको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गोरखा नगरपालिकामा ८५ जना डेंगु र ४० जना स्क्रब टाईफसका गरी कुल १२५ जनामा संक्रमण देखिएको छ भने शहिद लखन गाउँपालिकामा ९ जनामा डेंगुको संक्रमण देखिएको छ ।
उता धादिङ संग सिमाना जोडिएको आरुघाट गाउँपालिकामा २० जनामा डेंगु र ५९ जनामा स्क्रब टाईफस र पालुङटार नगरपालिकामा ३३ जनामा डेंगु र १८ जनामा स्क्रब टाईफस देखिएको छ ।
त्यस्तैगरी, सार्वजनिक भएको तथ्यांक अनुसार भिमसेन थापा गाउँपालिकामा ३ जनामा स्क्रब टाईफस र अजिरकोट तथा गण्डकीमा २–२ जना र बारपाक सुलिकोट गाउँपालिमा १ जनामा डेंगु संक्रमण देखिएको ल्याब टेक्निसियन अर्यालले बताए ।
संक्रमणको जोखिम बढन थाले संगै कार्यालयले सदरमुकाम वरपरका टोलहरुमा अभिमुखीकरण कार्यक्रम संञ्चालन गर्न थालेको पनि उनले बताए ।





















