गोरखा । गोरखा जिल्लामा गएको साउन महिनामा डेंगु र स्क्रब टाईफसका धेरै बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको एक तथ्यांक अनुसार जिल्ला भित्र २४१ जनामा संक्रमण देखिएको हो ।
कार्यालयका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालका अनुसार डेंगुका १३७ र स्क्रब टाईफसका १०४ जना संक्रमित फेला परेको छ । उनका अनुसार जिल्लाको सिरानचोक, चुमनुब्री र धार्चे गाउँपालिका बाहेक ८ स्थानिय तहमा दुवै संक्रमण फैलिएको छ ।
सार्वजनिक तथ्यांक अनुसा गोरखा नगरपालिकामा ७२ जना डेंगुका र ३१ जना स्क्रब टाईफसका गरी कुल १०४ जना बिरामी फेला परेका छन् ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा १९ जना डेंगु र ७२ जना स्क्रब टाईफस तथा पालुङटार नगरपालिकामा ३३ जना डेंगु र १८ जना स्क्रब टाईफसका बिरामी फेला परेको छ । संक्रमित फेला परेको आरुघाट गाउँपालिकामा दुवै रोगका गरी ७२ जना र पानपामा ५१ जना बिरामी फेला परेको निरिक्षक अर्यालले बताए ।
उता शहिदलखन गाउँपालिकामा ९ जनामा डेंगु देखिएको छ भने भिमसेन थापा गाउँपालिमा २ जनामा स्क्रब टाईफस र गण्डकी गाउँपालिकामा २ जनामा डेंगुका बिरामी फेला परेको छ ।
त्यस्तै अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा १–१ जनामा डेंगु संक्रमणका बिरामी फेला परेको पनि कार्यालयले जानकारी दिएको छ ।
संक्रमणको दरलाई हेर्ने हो भने गोरखा नगरपालिका अग्र भागमा देखिएको छ । गोरखा नगरपालिका पछि आरुघाट र पालुङटार नगरपालिकामा संक्रमण दर उच्च देखिएको छ ।
स्वास्थ्यकर्मीहरुले यि दुवै रोग असोजसम्म उच्च हुने भएकोले सतर्कता अपनाउन भनेको छ ।
डेंगु कसरी लाग्छ ?
डेंगु एडिस (एजिप्टा) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्ने उपाए के हो ?
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
स्क्रब टाईफस कसरी सर्छ ?
स्क्रब टाइफस वा बुस टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गदछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको रर्यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ ।
स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् । यसको समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ ।
स्क्रब टाईफसबाट जोगिन के गर्ने ?
संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।





















