गोरखा । गोरखामा गएको २५ दिन १५५ जनामा डेंगु र स्क्रब टाईफस संक्रमण देखिएको छ । साउन महिनाको २५ दिनमा मात्रै उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्याल बताए ।
अर्यालका अनुसार जिल्लाको ६ स्थानिय तहमा ७३ जनामा डेंगु र ४ स्थानिय तहमा ८२ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा डेंगु र आरुघाट गाउँपालिकामा स्क्रब टाईफसका संक्रमित धेरै देखिएको छ ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गोरखा नगरपालिकामा ४२ जनामा डेंगु र २० जनामा स्क्रब टाईफस देखिएको छ भने आरुघाट गाउँपालिकामा १० जनामा डेंगु र ४२ जनामा स्क्रब टाईफस देखिएको हो ।
पालुङटार नगरपालिकामा १८–१८ जनामा डेंगु र स्क्रब टाईफस देखिएको छ भने अजिरकोट, गण्डकी र बारपाक सुलिकोटमा १–१ जनामा डेंगु र भिमसेन थापा गाउँपालिकामा २ जनामा स्क्रब टाईफस देखिएको छ ।
उता जिल्लाको शहिद लखन, सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिमा भने कुनै पनि संक्रमण नदेखिएको फोकल पर्सन अर्यालले बताए ।
डेंगु कसरी लाग्छ ?
डेंगु एडिस (एजिप्टा) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्ने उपाए के हो ?
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
स्क्रब टाईफस कसरी सर्छ ?
स्क्रब टाइफस वा बुस टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गदछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको रर्यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ ।
स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् । यसको समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ ।
स्क्रब टाईफसबाट जोगिन के गर्ने ?
संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।


