गोरखा । श्रीमती हत्या आरोप लागेका गोरखा बालुवाका १ जना युवकलाई पुर्पक्षकालागि कारागार चलान गरीएको छ । बुधबार भएको थुकछेक आदेशमा गोरखा अदालतले बारपाक सुलिकोट गाउँपालिका–७ बालुवा निवासी ३१ बर्षिय कुमार सार्कीलाई पुर्पक्षकालागि कारागार चलान गरेको हो ।
गएको असार २६ गते कुमारले आफ्नी श्रीमती २६ बर्षिया सुनिता नेपालीको कुटपिट गरी हत्या गरेको आरोपमा गोरखा प्रहरीले पक्राउ गरी मुद्वा चलाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कुटपिटबाट मृत्यु भएका श्रीमती सुनितालाई सोही रात सलको पाँसो लगाएर घरको दलिनमा झुण्डाएको अनुसन्धानबाट खुल्न आएको छ ।
कुमारले आफ्नो गाउँमा श्रीमतीले सलको पाँसो लगाएर आत्महत्या गरेको भन्ने झुक्कानमा पारी सलको पाँसो समेत काटेको प्रहरीको अनुन्धानमा खुल्न आएको पनि प्रनि शर्माले जानकारी दिए । असार २६ गते नै पक्राउ परेका कुमारका बिरुद्व गोरखा प्रहरीले असार ३० गते ज्यान सम्वन्धी कसुर (कर्तब्य ज्यान) शिर्षकमा मुद्वा दर्ता गराएको थियो ।
अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत गोरखा जिल्ला अदालतमा राय पेश हुदा बुधबार नै पुर्पक्षकालागि कारागार चलान गर्ने आदेश भएको प्रनि शर्माले जानकारी दिए । आदेश लगत्तै प्रहरीले बुधबार नै कुमारलाई गोरखा कारागार चलान गरेको उनले बताए ।




















