गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले १ बर्षको अवधिमा करिब २० हजार राष्ट्रिय परिचयपत्र विवरण संकलन गरेको छ । ठुलो संख्यामा विवरण संकलन गरेको प्रशासनले करिब ८ हजारको संख्यामा मात्र बितरण गर्न सफल भएको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आर्थिक बर्ष २०८०–०८१ मा १९ हजार १३६ जनाको विवरण संकलन भएको र ७ हजार ८१२ जनालाई बितरण गरिएको जानकारी दिए । परिचयपत्र लिने र संलकन गरिएकाहरुमा पुरुषहरुको संख्या बढी भएको उनले बताए ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार १० हजार ५३३ जना पुरुष र ८ हजार ६०३ जना महिलाको विवरण संकलन भएको छ ।
त्यस्तैगरी, बितरण गरिएको परिचयपत्रमा पनि पुरुषकै संख्या धेरै देखिएको छ । ४ हजार ६७१ जना पुरुषलाई परिचयपत्र बितरण हुदा ३ हजार १४१ जना महिलाले परिचयपत्र लिएको तथ्यांकले देखाएको छ ।
विवरण संकलन गरिएका मध्ये पहिलो चौमासिकमा १ हजार ९२८ महिला र २ हजार ६३६ जना पुरुष, दोस्रो चौमासिकमा २ हजार ३५५ जना महिला र २ हजार ५८० जना पुरुष तथा तेस्रो चौमासिकमा १ हजार ६११ जना महिला र २ हजार ३३३ जना पुरुष एवं चौथो चौमासिकमा २ हजार ७०९ जना महिला र २ हजार ९८४ जना पुरुषको विवरण संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
उता तयारी परिचयपत्र बितरणमा भने पहिलो चौमासिकमा शुन्य रहेको थियो । दोस्रो चौमासिकमा ३६८ जना महिला र ७१३ जना पुरुष, तेस्रो चौमासिकमा १ हजार १७० जना महिला र १ हजार ६८३ जना पुरुष तथा चौथो चौमासिकमा १ हजार ६०३ जना महिला र २ हजार २७५ जना पुरुषलाई कार्यालयले बितरण गरेको थियो ।
पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ताका साथै पेन्सन लिने सबैलाई अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र लागु गरेपछी अहिले दैनिक जसो कार्यालयमा विवरण दिनेको संख्या बढेको पनि कार्यालयले जनाएको छ ।


