गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव आज विहान फेला परेको छ ।
पहिरोमा परेर ७ दिनदेखि हराइरहेका आरुघाट गाउँपालिका–८, लामागाउँ घर भएका २४ बर्षीया रमेश परियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
परियारको शव घटनास्थलदेखि करिब २ किलोमिटर तल रेसे खोलामा फेला परेको उहाँले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता हुनुभएको थियो ।
गएको आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षका सुलाल कान्छा गुरुङ, ३७ बर्षका जीतबहादुर गुरुङ, ३३ बर्षका रेशम गुरुङ र ३५ बर्षकी कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो ।
पहिरोमा परेर सोही ठाउँका ३५ बर्षका दिलिप गुरुङ र २७ बर्षका खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


