गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ को रेशेमा हिजो गएको पहिरोमा परी बेपत्ता भएका ५ जना आज बिहानैदेखी खोजी कार्य सुरु गरीएको छ ।
खोजी कार्यमा स्थानिय, जनप्रतिनिधी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै नजिकै रहेको हाड्रोपावरबाट जेसिबी मेशिन प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
उनका अनुसार आइतबार बिहान ३ बजेतिर गएको पहिरोमा परी धार्चे गाउँपालिका–५ रेशे बस्ने बर्ष ३७ को जीतबहादुर गुरुङ, बर्ष ३५ कि कान्छी गुरुङ, बर्ष ६० को सुलाल कान्छा गुरुङ, सिम्ला बस्ने (कामदार) बर्ष ३३ को रमेश गुरुङ र आरुघाट गाउँपालिका–७ आरुपोखरी घर भएका ट्याक्टर चालक बर्ष २४ को रमेश परियार बेपत्ता भएका छन् ।
उनीहरु हिजैदेखी खोजी भएको भएता पनि साँझसम्म पनि केही पत्ता नलागे पछी हिजो खोजी कार्य स्थगित गरी पुनःआज बिहानैदेखी खोजी कार्य सुरु गरीएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
भिर भाथीबाट आएको लेदोले बुढी गण्डकी नदीसम्म फैलावट लिएका कारण उनीहरुलाई नदीले बगाएको अनुमान गर्दै प्रहरीले बुढी गण्डकी नदी आसपास तथा त्रिशुली नदी आसपास समेत खोजी कार्य थालेको छ ।
सूचना अधिकारी श्रेष्ठले हिजो घर वरपर खोजी गरीएको थियो । केही पत्ता नलागे संगै आजदेखी अन्य क्षेत्रमा खोजी सुरु गरिएको छ ।
खोजी कार्यमा आइतबार गण्डकी गाउँपालिका–८ को बर्खेघाटमा रहेको त्रिशुली नदी किनारमा १ जना महिलाको शव फेला परेको समेत उनले जानकारी दिए । शवको पहिचान खुल्न सकेको छैन ।
पहिरोमा परेर घाईते भएका मध्य २ जनालाई हिजो नै संघिय राजधानीको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको छ । पहिरोमा परेर धार्चे गाउँपालिका–५ सिंम्ला निवासी ३५ बर्षिय दिलिप गुरुङ गंभिर घाईते भएका थिए । उनका सघन उपचार कक्षमा राखी उपचार भई रहेको छ ।
दिलिपको अनुहार, टाउँको तथा शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । सोही पहिरोमा परेर २७ बर्षिय खमबहादुर गुरुङ समेत घाईते भएका थिए । उनी भने सामान्य अवस्थामा रहेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । दुवै जना घाईतेलाई आइतबार नै कैलास एयरको हेली मार्फत उद्वार गरीएको थियो ।



