गोरखा । आज बिहान उत्तरी गोरखाको धार्चेमा रहेको रेशा गाउँमा पहिरोमा परी बेपत्ता भएकाहरुको नाम खुलेको छ । सोही पहिरोमा परेर घाईते भएका २ जनालाई थप उपचारको लागि संघिय राजधानीको टिचिङ अस्पताल पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठलका अनुसार पहिरोमा परी गंभिर घाईते भएका धार्चे गाउँपालिका–५ सिंम्ला निवासी ३५ बर्षिय दिलिप गुरुङ र सामान्य घाईते भएका २७ बर्षिय खमबहादुर गुरुङलाई कैलास एयरको हेली मार्फत उद्वार गरी राजधानीको टिचिङ अस्पताल भर्ना गरिएको हो । उनीहरुको उपचार सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।
यता प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार उद्वारमा नेपाली सेनाको हेली आउने करिब करिब निश्चित भएको बेला निजि कम्पनीको हेली मार्फत घाईतेको उद्वार गरिएको हो ।
यसै बिच घटना स्थलमा अहिले वरपरका गाउँलेहरु जम्मा भएर बेपत्ताको खोजी सुरु गरिएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोली पुगि सकेको छ भने नेपाली सेना र शसस्त्र प्रहरीको टोली समेत घटना स्थल तर्फ जादै गरेको प्रजिअ दाहालले बताए ।
त्यस्तैगरी, पहिरोमा परेर बेपत्ता भएकाहरुको नाम खुलेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार वेपत्ता हुनेहरुमा धार्चे गाउँपालिका–५ रेशा बस्ने बर्ष ३७ को जीतबहादुर गुरुङ (साहु), जीत बहादुर गुरुङको श्रीमती बर्ष ३५ कि कान्छी गुरुङ, जीत बहादुर गुरुङको बुबा बर्ष ६० को सुलाल कान्छा गुरुङ, सिम्ला बस्ने (कामदार) बर्ष ३३ को रमेश गुरुङ र आरुघाट गाउँपालिका–७ आरुपोखरी घर भएका ट्याक्टर चालक बर्ष २४ को रमेश परियार रहेका छन् ।




















