गोरखा । सिरानचोक गाउँपालिकाको थालाजुङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट विभिन्न रोगका ५०२ जनाले सेवा लिएको सिरानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए ।
गाउँपालिका र मुटु फाउन्डेसको आयोजना, युनाईटेड युथ क्लबको सहआयोजना तथा ग्रिनसिटी अस्पतालको प्राविधिक सहयोगमा हालै सम्पन्न शिविरमा स्त्री, नाक, कान, घाँटी, जनरल, ईसिजी तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार थालाजुङमा रहेको स्वास्थ्य चौकी भएको २ दिने शिविरमा ११० जना महिलाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराएका महिला मध्ये ४ जना पाठेघरको मुखको क्यान्सरको पहिलो चरणको संक्रमण देखिएको र ३ जना महिलालाई रिङ राखिएको छ ।
उता सोही शिविरमा २ जना महिलाको आँङ खस्ने समस्याबाट ग्रसित भएर स्वास्थ्य जाँच गराउन आएको पनि स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।
शिविरमा नाक, कान, घाँटीका ९१ जना सहित जनरल तर्फ ४४९ जनाले सेवा लिएको थियो । स्वास्थ्य जाँच गराउन आएका मध्ये २४ जनाले ईसिजी र १०६ जनाले निशुल्क भिडीयो एक्सरे गराएका थिए ।


