गोरखा । गोरखा सदरमुकामको एक मोबाईल पसलमा चोरी गरेको आरोप लागेका सिन्धुलीका १ जना युवकलाई आज गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जेठ १५ गते मंगलबार बिहान ३ बजेको समयमा गोरखा नगरपालिका–६ कालिमाटी बजारमा रहेको प्रबिन मोबाईल पसलमा चोरी गरेको आरोप लागेको सिन्धुली हरिपुरगढी गाउँपालिका–८ ढाँडखोलाका २१ बर्षिय कुमार मोक्तानलाई आज अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आरोपित मोक्तानले उक्त पसलबाट १२ थान मोबाईल, १ थान पावर ब्याङक, २० थान नमस्ते र एनसेलका सिमकार्ड, ३ थान मोबाईलको स्क्रिन ग्लास र २०५ रुपैयाँ नगद चोरी गरेको आरोप लागेको हो ।
कालिमाटी बजारबाट चोरी गरी भाग्दै गरेको अवस्थामा गोरखा नगरपालिका–८ को चाईनिज धारा स्थित प्रहरी टोलीले फेला पारी खानतलासी गर्दा उक्त सामाग्री बरामद भए लगत्तै उनलाई नियन्त्रणमा लिएर जेठ १६ गते बुधबार नै नकबजनी चोरी शिर्षकमा मुद्वा दर्ता गराएको थियो ।
अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयको राय सहित आज अदालत पेश भएका मोक्तानलाई पुर्पक्षका लागि कारागार चलान भएकोे सूचना अधिकारी श्रेष्ठले बताए ।


