गोरखा । गोरखामा विगत १० महिनामा ४२२ जनामा डेंगु संक्रमण देखिएको छ । ११ स्थानिय तह रहेकोे जिल्लामा ८ स्थानिय तहमा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी नवराज खड्काले बताए ।
‘जिल्लाको चुमनुब्री, धार्चे र बारपाक सुलिकोट गाउँपालिका बाहेक अन्यमा संक्रमण देखिएको’ भन्दै अधिकृत खड्का भने ‘सबैभन्दा बढी संक्रमण आरुघाट गाउँपालिकामा देखिएको छ ।’
उनका अनुसार साउन यता बैशाख मसान्तसम्म चुमनुब्री, धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा कुनै पनि डेंगुका संक्रमित देखिएको छैन । बाँकी ८ स्थानिय तहमा भने साउनदेखी बैशाख मसान्तसम्ममा ४२२ जना संक्रमित भेटिएको हो ।
संक्रमण देखिएको मध्ये आरुघाट गाउँपालिकामा १९३ जना, गोरखा नगरपालिकामा १५० जना, भिमसेन थापा गाउँपालिकामा ३२ जना र पालुङटार नगरपालिकामा २४ जनामा संक्रमण देखिएको कार्यालयको तथ्यांकमा देखिएको छ ।
त्यस्तैगरी, गण्डकी गाउँपालिकामा ८ जना, शहिद लखन र सिरानचोकमा ७/७ जना र अजिरकोट गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
सूचना अधिकारी खड्काले दिएको जानकारी अनुसार गएको आर्थिक बर्ष ०७९–०८० मा चुमनुब्री, अजिरकोट र धार्चे गाउँपालिका बाहेकका ८ स्थानिय तहमा ५३१ जनामा संक्रमण देखिएको थियो ।
कार्यालयमा भएको रकर्ड अनुसार आर्थिक बर्ष ०७९–०८० मा सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा देखिएको थियो । सो बर्ष आरुघाट गाउँपालिकामा २७० जना, गोरखा नगरपालिकामा ११९ जना र पालुङटार नगरपालिकामा १०१ जनामा संक्रमण देखिएको थियो ।
सोही बर्ष भिमसेन थापामा १२ जना, सिरानचोकमा ११ जना, शहिद लखनमा १० जना, बारपाक सुलिकोटमा ५ जना र गण्डकी गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
आर्थिक बर्ष ०७८–०७९ मा जिल्लाभर जम्मा ८ जनामा संक्रमण देखिएको भएता पनि त्यस पछीका बर्षहरुमा भने बर्षेनी संक्रमितको संख्या ह्वात्तै बढन थालेको छ । आर्थिक बर्ष ०७८–०७९ मा जिल्लाको चुमनुब्रीमा ५ जना, धार्चे २ जना र आरुघाट गाउँपालिकामा १ जनामा संक्रमण देखिएको थियो ।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण फैलने मुख्य सिजन भनेको साउन, भाद्र र असोज महिना हो ।
सफा पानीमा बस्न मनपाउने यो जातको लामखुट्टे बिहान र साँझ मात्र सक्रिय हुने गर्दछ ।
यो जातको लामखुट्टको टोकाई पछी उच्च जरो आउने, वाकवाकी लाग्ने, शरिर दुख्ने तथा टाउँको दुख्ने गर्दछ । यस्ता लक्ष्यण तथा समस्या देखिनासाथ नजिकको स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराउन समेत स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी नवराज खड्काले बताए ।


