गोरखा । जाजरकोट भूकम्प पिडितका लागि गोरखा बजारमा रहेको एक संस्थाले २ लाखबढी नगद सहयोग गर्ने भएको छ । जेष्ठ नागरिक संघ गोरखाले भूकम्प पिडितका लागि भन्दै २ लाख १६ हजार १११ रुपैयाँ सहयोग गर्न लागेको संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिएको छ ।
संघले केही दिन अगाडी मात्रै भूकम्प पिडितको लागि भन्दै गोरखा बजारका ब्यापारी तथा सर्व साधारणबाट ९५ हजार नगद संकलन गरेको थियो । त्यस्तैगरी, जेष्ठ नागरिक संघ जिल्ला कार्य समितिमा रहेका १३ जनाबाट ७० हजार र पृथ्वीनारायण साना शहरी खानेपानी तथा उपभोत्ता समितिबाट ५१ हजार १११ रुपैयाँ संकलन भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संकलित सबै रकम केहीदिन भित्रै जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत प्रधानमन्त्री दैविप्रकोप उद्वार कोषमा जम्मा हुने गरी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिने पनि संघले जानकारी दिएको छ ।
संघले आज एक विज्ञप्ती जारी गर्दै रकम संकलनमा सहयोग गर्ने ब्यापारी तथा ब्यवसायी एवं संघ संस्था र सर्व साधारण सबैलाई धन्यबाद दिएको छ ।



